सालको पात बेच्ने ‘भाइरल आमा’लाई सहयोग

काठमाडौं । ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ ।

उनका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोराले पनि उनलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरालितिरै बसे । दुःखसुख गरेर हुर्काएको छोराले पनि नहेरेपछि आराम गर्ने बेलामा उनी दमौली बजार आसपास सालको पात बेच्न हिँड्छीन् । “बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उनले भनिन्, “गुजारा गर्न सालको पात बेच्छु ।”

व्यास नगरपालिका–४ स्थित कालिका जङ्गलमा दुई तीन घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर बिक्री गर्ने उनको दैनिकी हो । दिनमा तीनचारवटा मुट्ठासम्म पात बिक्री गर्ने गरेको उनले जानकारी दिइन्। “दिनभर दमौली बजारमा विभिन्न ठाउँमा जान्छु, एउटा मुठोको ५० सम्म बिक्री हुन्छ”, उनले भनिन् ।

फेसबुकमा देखेपछि सहयोग :

दवाडीका बारेमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले सामाजिक सञ्जालमा फेसबुकमा तस्बिर पोष्ट गरेपछि उनलाई सहयोग जुटेको छ । ग्रिन क्लिन आशिका फाउन्डेसनमार्फत दवाडीलाई दुई बोरा चामल, दाल, नुन, तेल, चियापत्तीलगायत पकाउने भाँडाकुँडा सहयोग गरिएको छ ।

उक्त सामग्री फाउन्डेसनका उपाध्यक्ष सन्दीप बस्नेतले शुक्रवार सहयोग सामग्री दवाडीलाई हस्तान्तरण गरे। सामाजिक अभियन्ता, नर्स एवं कलाकार आशिका तामाङ अध्यक्ष रहेको फाउन्डेसनले प्रत्येक महिना देशका विभिन्न स्थानमा आवश्यक पर्नेलाई सहयोग गर्दै आइरहेको छ । दशैँको पूर्वसन्ध्यामा खाद्यान्नलगायत सामग्री पाएपछि दवाडी खुशी भएकी छिन् । – रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?