शिक्षक पेसा छोडेर बगरमा व्यावसायिक केरा खेती

तुलसीपुर : दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुषालले बगरमा केरा खेती गर्नुभएको छ । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उहाँले बताउनुभयो ।

“पहिले बस्ती थियो, तर राप्ती नदीले कटान गर्न थालेपछि बस्ती अन्तै सर्यो, यो स्थान बगरमा परिणत भयो”, उहाँले भन्नुभयो, “बगरमा परिणत भएपछि यो स्थानमा अहिले मैले व्याजसायिक केरा खेती गर्न थालेको छु ।” वार्षिक रु तीन लाख ६० हजार भाडा दिने सम्झौता गरी उक्त जग्गाामा ‘जी नाइन, वैलिएम हाईब्रेड र हरि साल’ जात लगायतकाका १५ हजार केराका बिरुवा रोपेको उहाँको भनाइ छ । तीन वर्षदेखि व्यावसायिक केरा खेती शुरु गर्नुभएका भुषालले पहिलो सिजनमै रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको बताउनुभयो ।

एउटा केराको बोटमा २७५ वटासम्म कोसा लाग्ने गरेका छन् । उहाँले दोस्रो सिजनमा करिब रु सात लाख आम्दानी गर्ने योजना बनाउनुभएको छ । अहिले दोस्रो सिजनको केरा पनि तयार भइसकेको उहाँको भनाइ छ । हाल उत्पादन भएका केराहरु लमही बजारमै खपत हुने गरेको उहाँले बताउनुभयो । प्राय फुटकर व्यवसाय गर्ने मानिसहरु फार्ममै पुगेर केरा लैजाने गरेका छन् । उहाँले केरा खेतीलाई अझै फराकिलो बनाउने सोचमा रहेको बताउनुभयो ।

“अहिले १२ बिघामा केरा खेती छ, तर यतिले मात्रै पुग्दैन”, उहाँले भन्नुभयो, “यसलाई बढाएर करिब ३० बिघा बनाउने योजनामा छु ।” केरा खेतीका लागि मल आवश्यक हुने भएकाले अब केरा खेतीसँगै भैँसी र बाख्रा पालन गर्ने योजना बनाएको समेत उहाँले बताउनुभयो । बाख्राका लागि खोरसमेत तयार पारिसकेको भन्दै कृषि फार्मका लागि रु २५ लाख लगानी भइसकेको उहाँको भनाइ छ ।

भुषालले अहिले प्रदेश सरकारबाट अनुदानका लागि प्रक्रिया अगाडि बढाएको बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङले भने रु चार लाख अनुदान दिइसकेको छ । भुषालले लमहीस्थित खिमबहादुर शाह माध्यमिक विद्यालयमा गणित विषयमा १० वर्ष अध्यापन गराराउनुभएको थियो । त्यसपछि दुई वर्ष निजी विद्यालयमा पनि अध्यापन गराउनुभएका उहाँले शिक्षक पेशाभन्दा पनि कृषि पेशामा सम्भावना देखेपछि उक्त पेशा रोज्नु भएको हो । उहाँले केरा खेतीको रेखदेखका लागि एक जनालाई रोजगारी समेत दिनुभएको छ । अन्य खेती जस्तै केरा खेतीमा पनि निकै मेहनत गर्नु पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार वर्षमा दुई पटक मल दिनु पर्ने र केराको बोटलाई सफाइ गरिरहनु पर्ने हुन्छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?