च्याउखेतीबाट मनग्य आम्दानीसँगै आत्मसन्तुष्टि पनि !

दमौली : तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुगे । तीन वर्षको बसाईपछि उनी घर फर्किए। घर फर्किएपछि के गर्ने ? उनमा कुनै विकल्प थिएन । त्यसलगत्तै उनी वैदेशिक रोजगारीका लागि कतार पुगे। कतारमा जम्मा १५ महीना बसेर पुनः स्वदेश फिर्ता भए ।

विदेशमा चार वर्ष पाँच महीना बस्दा उनले केही पैसा त कमाए तर आत्मसन्तुष्टि लिन सकेनन् । घरमै बस्दै गर्दा उनलाई प्लम्बिङ काम गर्ने सोच आयो । हातमा सीप भएकाले उनले प्लम्बिङको काम शुरु गरे । सँगै तरकारीखेती पनि ।

प्लम्बिङ र तरकारीखेतीबाट भएको आम्दानीले उनको घरखर्च चल्दै गयो । बिस्तारै उनले च्याउखेतीमा भविष्य देखे र च्याउखेती शुरु गरे । सात वर्ष अगाडिदेखि च्याउखेती गरेका श्रेष्ठले यसैलाई निरन्तरता दिइरहेका छन् । व्यावसायिकरुपमा च्याउखेती गरिरहेका श्रेष्ठ अहिले सन्तुष्ट छन् । “विदेश गएर आत्मसन्तुष्टि मिलेन, बरु अहिले घरमै बसेर गरेको च्याउखेतीले सन्तुष्टि दिलाएको छ”, श्रेष्ठले भने, “मनग्य आम्दानी छ, घरखर्च राम्रोसँग चलेको छ ।”

उनले १० आना आफ्नै र १० आना भाडामा लिएर च्याउखेती गरिरहेका छन् । च्याउखेतीबाट वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताए । उनले च्याउखेतीका लागि आठ वटा टनेल बनाएका छन् । हालसम्म रु १६ लाखभन्दा बढी लगानी भएको उनले बताए।

च्याउखेती विस्तार गर्ने सोच बनाए पनि जग्गा नपाएको श्रेष्ठले बताए । “अझै थप व्यावसायिकरुपमा खेती गर्ने सोच हुँदाहुँदै पनि जग्गा पाएको छैन, जग्गा खोज्दैछु”, श्रेष्ठले भने । श्रेष्ठले हालै मात्र चार वटा टनेल बनाएर उक्त टनेलमा ४०० किलो च्याउको बीउ रोपेका छन् । चौबीस दिनमा टुसा पलाउन शुरु हुने र ३० देखि ३५ दिनमा च्याउ बिक्रीका लागि तयार हुने गर्दछ । “एक चरणमा चार हजार किलो च्याउ बिक्री भइसक्यो, अहिले थप ४०० किलो च्याउको बीउ लगाएको छु”, उहाँले भने । एउटा पोकामा राखिएको च्याउको बीउबाट छ पटकसम्म उत्पादन लिन सकिन्छ ।

बजार अभाव छैन

उत्पादित च्याउ बिक्रीका लागि कुनै समस्या नरहेको श्रेष्ठले बताएयो । उत्पादित च्याउ दमौली बजारमै छोपाछोप हुने गरेको उनले सुनाए । उनले दमौली बजारमै तरकारी पसलसमेत सञ्चालन गर्दै आएका छन् ।

“कतिपय त च्याउ लिन घरमै आइपुग्छन्, पसलमा लगेर पनि बेच्ने गरेको छु”, उनले भने, “बजारको कुनै समस्या छैन, च्याउखेतीबाट सन्तुष्ट छु, चार जनाको परिवार राम्रोसँग चलेको छ ।” श्रेष्ठका अनुसार थोकमा प्रति किलो रु १६० र खुद्रा रु २०० सम्म च्याउ बिक्री हुने गरेको छ ।

च्याउ उत्पादन भएको बेला प्याकिङ गर्नका लागि श्रेष्ठले १०÷१५ जनालाई रोजगारी दिएका छन् । “अरु बेला घरपरिवारले नै काम गर्छौं, उत्पादन भएका बेला घर वरपरकै मानिसलाई काममा लगाउने गरेको छु”, श्रेष्ठले भने ।

व्यास नगरपालिकाले श्रेष्ठलाई रु आठ लाख अनुदान दिएको छ । व्यावसायिकरुपमा खेती गरिरहेका कृषक छनोट गरी अनुदान दिइएको नगरपालिकाका प्रवक्ता एवं आर्थिक समितिका संयोजक मोहनकुमार श्रेष्ठले जानकारी दिए। “उहाँले गरेको कामको मूल्याङ्कन र अनुगमनपछि मात्रै रकम भुक्तानी गर्छौं”, उनले भने, “उहाँको च्याउखेतीको नगरपालिकाको तर्फबाट अनुगमन भएको छ, कृषकलाई प्रोत्साहित गर्ने नगरपालिकाको नीति छ ।” रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments