मासिँदै छ सुन्तला : सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् किसान

इलाम : सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती थालेका छन् ।

विगतका वर्षदेखि नै रोगले आक्रमण गरे पनि यस वर्ष भने रोगले उत्पादन आधा घटाएको छ । फल लाग्ने बेलामा रुख नै पहेँलो हुने, फल पाक्ने समय नभई पहेँलो हुने समस्याले सुन्तला बढी ग्रस्त भएको छ ।

व्यावसायिक खेती गर्दै आएका किसान यसको ठूलो मारमा परेका छन् । आम्दानीको मुख्य स्रोतमै रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेतीको तयारीमा रहेको इलाम नगरपालिकास्थित महभिरका किसान उमेश महत बताउँछन् । महतका अनुसार बर्खाको समयपछि सुन्तलामा क्रमिकरूपमा रोग देखा पर्न थाल्छ ।

“कतै औषधि छैन भनिन्छ, सुन्तलामा रोग देखिएको छ, उपचार विधि छैन”, महतले भने, “सुन्तलाको लोकल (पुरानो) जातमा बढी रोग देखापरेको छ ।” बीउबाट घरमै उत्पादन गरिएको सुन्तलालाई लोकल प्रजातिको सुन्तला भनिन्छ । जुन रैथाने जात हो । यसका अतिरिक्त अरू सुन्तलासँग ‘क्रस’ गराइएको जातको सुन्तलासमेत खेती गरिन्छ ।

यो जातको सुन्तलामा रैथाने जातमा भन्दा कम रोग देखिएको किसानको भनाइ छ । महतको यस वर्षको सुन्तला रोगकै कारण उत्पादन खच्किएको छ । छ सय बोट सुन्तला लगाएकामा ४०० बोट सुन्तलाबाट मात्रै आम्दानी लिँदै आएको महतको भनाइ छ । “अर्को वर्ष यही बोट पनि मर्छन् । बर्सेनि रोग देखापरिरहेको छ”, उनले भने । जिल्लाका सबै क्षेत्रमा सुन्तलामा रोग देखिएको छ । शुरुआती समयमा औल र बेँसी क्षेत्रमा देखिएको रोग विस्तारै माथिल्लो क्षेत्रमा उक्लिएको छ ।

विगत १० वर्षदेखि यो रोग देखापरे पनि कुनै क्षेत्रबाट चासो नदिँदा सुन्तला सखाप हुँदै गएको माइजोगमाई गाउँपालिकास्थित नामसालिङका किसान एवं सुन्तला व्यवसायी पदम राई बताउँछन् । उनका अनुसार बर्सेनि रोगले सुन्तलाको उत्पादन २० प्रतिशतले घट्दै छ । उनले रोगबाट बचाउनका लागि घरायसी उपचार गर्दासमेत कम नभएको बताए । “जरा खनेर चुना लगाउने, विभिन्न किरा मार्ने भिटामिन लगाउने गर्दा पनि रोग जाति हुँदैन ।”

गएको वर्ष राईले रु २२ देखि २५ लाखको सुन्तला कारोवार गरेकामा यस वर्ष घटेर रु १० देखि १२ लाखमा पुग्ने अनुमान छ । सबै बगानको पुरानो बोट बिग्रिँदै गएकाले उत्पादनमा ह्रास आएको हो । पात कुहिने रोगसँगै केही किसानको बगानमा जरा कुहिने रोगले समेत सुन्तलालाई गाँजेको छ । एउटा रोगको चपेटामा परेको सुन्तलालाई बचाउन हम्मेहम्मे परेका बेला अर्को रोग थपिँदा किसानले सुन्तला मास्न थालेका छन् ।

अपेक्षाकृत फाइदा नहुँदा वैकल्पिक खेती (अलैँची, अदुवा) लगाउन थालेका छन् । आफ्नो बारीमा यी दुवै रोग देखापरेकाले वैकल्पिक खेती थालेको इलाम नगरपालिकास्थित मान्द्रेनीका किसान सामवेद चापागाईँ बताउँछन् । बोट सुक्दै जाने अनि खोदल्दा जरा नै सुकेको अवस्था फेला पर्ने गरेको चापागाईँको भनाइ छ । सरकारी क्षेत्रमा गुहार्दासमेत चासो नदिएपछि सुन्तला खेती नै न्यूनीकरण गर्न लागेको चापागाईँको दुखेसो छ ।

“जिल्ला कृषि ज्ञान केन्द्रमा धेरैचोटि भन्न गएँ, केही पाइएन । माटो परीक्षण गर्ने भनेर लानुभो । त्यसको नतिजा पनि आएन”, चापागाईँले भने, “आफैँ बरु जरा खोतलेर सुकेको जरा फ्याँक्ने काम गर्छु । यसले गर्दा रोग फैलिन पाएको छैन ।” चापागाईँले सुन्तलाको रोगबारे जानकारी गराउन पटकपटक कृषि ज्ञान केन्द्र धाएको बताए। यो रोगले बढी चिसो र बढी गर्मी क्षेत्रको सुन्तलालाई भेटको उनको भनाइ छ । शुरुआती समयदेखि नै प्राङ्गारिक खेती गर्दै आएका चापागाईँले अघिल्लो वर्ष कृषि क्षेत्रीय निर्देशनालय धनकुटाको विज्ञको समूहसँग परामर्शपछि रोग हटाउन रासायनिक मल प्रयोग गर्न थालेको बताए। जिल्लाको कृषि क्षेत्र हेर्ने ज्ञान केन्द्रले ढुसी भन्दै माटो परीक्षण नगरिदिँदा रोग फैलँदो क्रममा रहेको उनले सुनाए । यता कृषि ज्ञान केन्द्रले भने जिल्लाको सबै क्षेत्रमा पात पहेँलिने रोग भने देखापरेको बताएको छ । शुरुआती वर्षमा जिल्लाको नामसालिङ, सलकपुर र महभिर क्षेत्रमा बढी देखिएको केन्द्रले जनाएको छ ।

के गर्दा हट्छ त रोग ?

कृषि ज्ञान केन्द्रका अनुसार यी रोगको उपचार पद्धति हालसम्म कसैलाई पनि थाहा छैन । रोगको नामकरणसमेत नभएकाले केन्द्रसमेत अनभिज्ञ रहेको छ तर पुरानो सुन्तलाको बोट हटाएर नयाँ बोट लाउन सके रोग कम हुनसक्ने अनुमान केन्द्रको छ । यी रोग जिल्ला बाहिरसमेत देखापरेका छन् । यसैले जिल्लामा उत्पादित रोग होइन ।

सम्बन्धित क्षेत्रको माटो परीक्षण गरेर सुन्तलाका लागि आवश्यक भिटामिनयुक्त क्षेत्रमा खेती गर्न किसानलाई आह्वान गरिएको छ । यसका लागि बाली बीमा गरेमा पनि क्षति कम हुने केन्द्रका प्रसार अधिकृत रुजन खड्काले बताए। विभिन्न भाइरसको आक्रमणले रोग देखापर्ने भएकाले हाँगा, जरामा राम्ररी गोडमेल गर्नुपर्ने, माटोका अम्लियपना जाँच गर्नुपर्ने खड्काले बताए ।

पुरानो बिरुवालाई हटाएर क्रसको माध्यमबाट उत्पादित बिरुवा लगाउनुपर्ने, लामो समय एउटै बिरुवालाई बगानमा राख्न नहुनेलागयतका प्रावधान कृषि केन्द्रले जानकारी गराएको छ । किसानले सुन्तलासम्बन्धी प्राथमिक विषयवस्तुबारे थाहा पाउँदा मात्रै रोग कम हुने अनुमान ज्ञान केन्द्रको छ । “बोट बूढो हुँदै जाँदा जरा कमजोर हुँदै जान्छ । यसैले नयाँ–नयाँ बिरुवा लगाउँदै जानुपर्छ”, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, “मलखाद प्रविधिमा पनि विशेष ध्यान जानुपर्छ । यस्ता प्रावधान पुर्याउन सकेमा रोग केही कम हुनसक्छ ।”

केन्द्रका अनुसार प्रत्येक वर्ष माटो परीक्षण हुने गरेको छ । विगतका वर्षमा समेत विभिन्न स्थानीय तहमा माटो परीक्षण गरिएको थियो । एकै किसिमको खेती गर्दै जाँदासमेत माटो कमजोर हुँदै जाने सम्भावना हुन्छ । यसैले समय–समयमा माटो परीक्षण गर्ने र बीउका बारेमा प्रष्ट बुझेर मात्र खेती गर्दा उत्पादन उल्लेखीय पाउने सम्भावना छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments