डेढ लाखसम्ममा पाठा बिक्ने बाख्रा पाल्दा फाइदैफाइदा

बोयर बोका

झापा: पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् ।

झापाको मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक यूएईको दुबईमा ७ वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन् ।

उनको ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उनले १ करोड रुपैयाँ लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । १० बिघा जमिन लिजमा लिएर २ वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ ।

उनको फार्ममा हाल १९ माउ बोयर जातका बाख्रा, २० माउ सानन जातका, १६ वटा बोयर खसी र ४० बढी पाठापाठी छन् । एउटा बीउ बोका पनि पालिएको छ । अस्ट्रेलियाबाट किनेर ल्याइएको बोयर बोकाको दाम ५ लाख रुपैयाँ परेको छ ।

आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ दुबईबाट घर फर्किएपछि उनले घरेलु कार्यालयमा फार्म दर्ता गरेर शुरूमा बंगुर र ब्रोइलर कुखुरा पालेका थिए ।

मेचीनगर–१० स्थित आफ्नै जग्गामा उनको बंगुर फार्म थियो । आम्दानी पनि राम्रै हुन थालेको थियो तर बस्ती बालिँक्दै गएपछि गाउँभित्र बंगुर फार्म सञ्चालन गर्न अप्ठ्यारो भयो । त्यसपछि बंगुर र कुखुरा फार्म बेचेको पूँजीसहित उनले मेचीनगर नगरपालिका–१४ मा १० वर्षका लागि जग्गा लिजमा लिएर बाख्रा फार्म सञ्चालन गर्न थाले । फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने खोर बाहिर लहरे तरकारी खेती र बाख्राका लागि आवश्यक घाँसखेती गरिएको छ ।

यहाँ उत्पादित बोयरका पाठापाठी प्रतिकेजी २ हजार ५०० दरले जिउँदै बिक्री हुने गरेको छ । उनका अनुसार बोयर जातका बाख्रा अस्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन् । बोयर बाख्राको घाँटीमा खैरा रङको घेरो हुन्छ ।

बोयर बाख्रा २ वर्षमा ३ पटक ब्याउने र सानन वर्षमा २ पटक ब्याउने गरेको उनले जानकारी दिए । ३ महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उनको भनाइ छ । दैनिक ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ । रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments