कुखुराको मासुको अस्वाभाविक मूल्यवृद्धि
पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ । गत वर्ष वैशाख महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।
कुखुराका चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्बर भन्दा बढीले वृद्धि भएको हो । कोरोना भाइरसको संक्रमण गर्न गत वर्ष चैत ११ गतेदेखि लामो समयसम्म लकडाउन भएपछि प्यारेन्ट माउ ल्याउन नसक्दा त्यसको असर उत्पादन र मूल्यमा देखिएको हो । मुलुक मासु र अण्डामा आत्मनिर्भर भएपनि प्यारेन्ट माउ भने आयात गर्नुपरेको छ ।
३० प्रतिशत आन्तरिक उत्पादनले माग धानेपनि ७० प्रतिशत माउ आयात गर्नुपरेको ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए । चल्ला उत्पादन कम भएकाले बजारमा मासुको मूल्य लगातार बढ्दै गएको उनको भनाइ छ । चल्ला उत्पादन कम हुँदा बजारमा अभाव भएर मूल्य बढ्न गएको उनले बताए ।
विश्व खाद्य तथा कृषि संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष १४ केजी मासु, ४८ गोटा अण्डा आवश्यक पर्ने मापदण्ड रहेकामा हाल १८.१ केजी मासु, ६१ वटा अण्डाको उपलब्धता रहेको कृषि तथा पशु विकास मन्त्रालको दाबी छ । मन्त्रालयका अनुसार मुलुकमा पाँच लाख ४८ हजार मेट्रिक टन मासु, १ अर्ब ६१ करोड वटा अण्डा उत्पादन भएका छन् ।
संघका अनुसार सामान्य अवस्थामा हप्तामा ४० देखि ४५ लाख चल्ला उत्पादन हुने गरेकोमा अहिले घटेर ३० लाख मात्र उत्पादन हुने गरेको छ । चल्ला उत्पादन कम हुँदा बजारमा कुखुराको मासुको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । लगातार मासुको मूल्य बढेर उपभोक्तालाई महङ्गो मूल्य तिर्नुपरे पनि किसानलाई भने फाइदा भएको छ ।
अघिल्लो वर्ष यति बेला जिउदो कुखुराको मूल्य प्रतिकेजी १ सय ९० रहेकोमा अहिले बढेर ३ सय रुपैयाँ पुगेको र किसानले उचित मूल्य पाएको कुखुरा उत्पादक संघका अध्यक्ष राजेन्द्र लामिछाने बताउँछन् । किसानले प्रतिकेजी २ सय ८० देखि ३ सय रुपैयाँ मूल्य पाएको उनको भनाइ छ । “भटमास, पिना, ढुटो, मकै, ढुटोको मूल्य बढेकाले किसानको लागत बढ्न गएको छ” उनले भने, “अहिले मूल्य बढेकाले किसानलाई थोरै भएपनि राहत भएको छ ।”
कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरु पूर्णरुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकामा दैनिक साढे दुई लाख किलो मासुको माग हुने गरेकोमा उत्पादन कम भएकोले पछिल्लो समय खपत पनि घटेकोे संघले जनाएको छ ।
