महामारीमा थप २५ सय क्विन्टल खाद्यान्न कोटा स्वीकृत
कोरोना महामारीको दोस्रो लहर सुरु भए सँगै जुम्लामा अनुदानको खाद्यन्न अभाव भएको गुनासो बढेपछि थप कोटा स्वीकृत भएको छ । महामारीमै खाद्यान्न अभाव भएर जुम्लामा खाद्यन्न संकट निम्तिन सक्ने जोखिम बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २ हजार ५ सय क्विन्टल चामल थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पन्नी शाखा जुम्लाका प्रमुख तिलक सुनारले बताए ।
उनका अनुसार जुम्लामा चामल अभावको गुनासो बढेपछि केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको हो । प्रक्रिया सवै पूरा भएको छ । बढीमा अबको दुई हप्तामा २५ क्विईन्टल चामल धनगढीबाट जुम्ला आइपुग्ने उनको भनाइ छ ।
यस्तै प्रदेश कार्यालयसँग थप ५ हजार र नेपालगज्ज, बर्दिया, राजापुरबाट १÷१ हजार क्वीइन्टल चामल माग गरिएको छ । तर, कोटा स्वीकृत हुन भने बाँकी रहेको छ । यस वर्ष ठेकेदारले जुम्लाका दुईवटा डिपोमा २ हजार क्वीइन्टल र खाद्य संस्थानमा करिब ५ सय क्विन्टल चामल हालसम्म ढुवानी नहुँदा समस्या भएको हो ।
माग गरिएका सबै कोटा स्वीकृत भएपछि आगामी आउने दसैं–तिहारमा पनि चामल अभावसमेत संस्थानले जनाएको छ । जुम्लाको वार्षिक चामल कोटा ५ हजार ६५० क्विन्टल हो । प्रमुख सुनारका अनुसार यसमध्ये ९ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनुपर्छ । जुम्लाका लागि ४ हजार २५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले बर्षभरी चामल पुग्दैन । स्थानीय उत्पादनले ६ महिना नपुग्ने जुम्लामा यस वर्ष कोरोना महामारी सँगै खाद्यन्न संकट भएको हो ।
नागरिकलाई कोरोना महामारीमा खाद्यको (चामल) समस्या नहोस भने खाद्य संस्थान व्यापार कम्पनी जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित रूपमा चामल बिक्री गर्दै आएको छ ।
जुम्लाको जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । २ वटा डिपो गरी २ हजार क्विन्टल चामलको कोटा विनियोजित गरेको हो । तर, चामल ढुवानीकर्ताले ढुवानी नगर्दा समस्या भएको स्थानीय बताउँछन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा निषेधाज्ञा जारी रहेको र गाउँका डिपो रित्तो भएकाले अनुदानको चामल लिनबाट बञ्चित भएका छन् । बजारको महँगो खाद्यन्न किन्नसमेत नागरिक बाध्य छन् ।
जुम्लामा झन्डै २० हजार घरधुरीमा १ लाख ९ हजार बढी जनसंख्या छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्यांक छ । त्यसैले पनि जुम्लामा सरकारी अनुदानको चामल स्वीकृत कोटा अनुसार आपूर्ति ढुवानी गराउन सरोकारवालाको जोड आवश्यक छ ।
