चिनीमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञासँगै बजारमा चिनीको मूल्य बढेको हो । निषेधाज्ञाको बेला चिनी उद्योगले कृत्रिम अभाव गराएर मूल्य वृद्धि गराएका हुन् । यसअघि प्रतिकेजी ८० रुपैयाँ रहेको चिनीको खुद्रा मूल्य बढेर ९० रुपैयाँ पुगेको छ ।

निषेधाज्ञा सुरु हुनुभन्दा पहिला उद्योगीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गएर चिनीको पर्याप्त मौज्दात भएकाले अभाव नरहेको बताएका थिए, तर उनीहरूले त्यसको केही दिनमै बजारमा चिनीको मूल्य बढाएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालले चिनीमा कृत्रिम अभाव गराएर कालोबजारी गरेको भन्दै कारबाही गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको छ । कृत्रिम अभाव गराएर उद्योगीले चिनीमा मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।

बजार अनुगमन गर्दा प्रतिकेजी ९० देखि १ सय १० रुपैयाँसम्म मूल्य लिएको भन्दै मञ्चले मूल्य वृद्धि गर्ने उद्योगलाई कारबाही गर्न माग गरेको हो । निषेधाज्ञाको बेला कृत्रिम अभाव गराएर मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष मार परेको छ, मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, “यो वर्ष चिनी उत्पादन कम भए पनि बाहिरबाट पर्याप्त चिनीको आयात भएकाले बजारमा अभाव छैन ।”

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले चिनीमा होलसेल मूल्य बढेर आएकाले खुद्रा मूल्य पनि बढेको जानकारी दिए । मन्त्रालयमा भएको छलफलमा उद्योगीले पर्याप्त मात्रामा चिनी रहेको बताए पनि बजारमा भने मूल्य बढेको उनको भनाइ छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको प्रवक्ता शिवराज सेढाईले चिनीको मूल्य बढेको गुनासो आएकाले चिनी उद्योगमा अनुगमन गरिरहेको बताए । कालोबजारी गर्ने चिनी उद्योगलाई एक÷दुई दिनमै कारबाही गरिने उनले जानकारी दिए ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले भने यो वर्ष चिनीको उत्पादन कम भएर बजारमा अभाव भई प्रतिकेजी ५ रुपैयाँ मूल्य बढेको बताए । “यो वर्ष एक लाख १० हजार मेट्रिक टन मात्र चिनी उत्पादन भयो,” उनले भने । निषेधाज्ञाको कारण तस्करीबाट आयात हुने चिनी रोकिएपछि अभाव भई मूल्य बढ्न गएको उनको भनाइ छ ।

खुला सिमानाका कारण मुलुकमा ठूलो परिमाणमा छिमेकी मुलुक भारतबाट चिनी तस्करीबाट चिनी आयात हुने गर्छ ।
प्रतिकेजी ५ रुपैयाँ मूल्य बढ्दा पनि उद्योगलाई अझै घाटा रहेको उनको भनाइ छ । बजारमा चिनीको आपूर्ति सहज गर्नका लागि सरकारले जतिसक्दो छिटो चिनी आयात गर्नुपर्ने उनको भनाइ छ ।

चिनी उत्पादक संघका अनुसार मुलुकमा चिनीको कुल उत्पादन क्षमता २ लाख ४० हजार मेट्रिक टन भए तापनि गत वर्ष १ लाख ८० हजार मे.टन चिनी उत्पादन भएको थियो ।

मुलुकमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन रहेको तथ्यांकनुसार गत वर्ष नै ७० हजार मेट्रिक टन चिनीको आपूर्तिमा न्यून रहेको देखिन्छ ।

गत साल न्यूनतम ६९ देखि अधिकतम ७५ रुपैयाँ प्रतिकिलो रहेको चिनीको मूल्य चालू आवको कात्तिक महिनादेखि चिनीको खुद्रा मूल्य बढ्न गई प्रतिकिलो ७६ देखि ८५ रुपैयाँ प्रतिकिलो पुगेको थियो । त्यसपछि अहिले आएर चिनीको मूल्य पुनः बढेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?