“यदि पृथ्वीबाट मौरी लोप हुन्छन् भने त्यसको चार वर्षपछि अस्तित्व रहने छैन ।” आइस्टाइन

मौरी किसान

संयुक्त राष्ट्र संघले मे २० लाइ हरेक वर्ष अन्तराष्ट्रिय मौरी दिवसका रुपमा मनाउदै आएको छ । कोरोनाको महामारी विच यो वर्ष पनि आज विश्वभर मौरी जोगाऔं भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।

मौरी भन्नेवित्तिकै गुलियो महको सम्झना आउँछ । महको सम्झनाले मुख रसाउनु स्वाभाविक मानिन्छ । तर, जलवायु परिवर्तनका कारण विश्वबाट मौरीको संख्या भने घट्दो क्रममा देखिन्छ । अहिलेकै अनुपातमा माहुरी कम हुँदै जाने हो भने मह खानमात्र हैन खाद्यान्न नै खान नपाएर मानव जाति नै समाप्त हुनेजस्तो हृदयस्पर्शी रहस्य पनि मौरीसँगै जोडिएको छ ।

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइनले भनेका छन्, “यदि पृथ्वीबाट माहुरी लोप हुन्छन् भने त्यसको चार वर्षपछि अस्तित्व रहने छैन ।” आइस्टाइनले यो भनाइ यत्तिकै भनेका भने होइनन् । पृथ्वीमा अस्तित्वमा रहनेका ९० प्रतिशत बोटविरुवा माहुरीको परागसेचनका कारण बाँचेका छन् । माहुरी हराउँदै जाँदा परागसेचनमा समस्या आउँछ र बोट विरुवाको अस्तित्व हराउँदै जान्छ । यसो हुँदा खाद्यसंकट र प्राकृतिक विपत्तिको कारण मानव जाति संकटमा पर्छ भन्ने सन्देश आइन्स्टाइनको छ । र, यस विषयमा मानव जाति कम गम्भीर रहनुले मौरी र मानव दुवै खतरामा परेको तथ्यहरूले बताइरहेका छन् ।

अमेरिकामा मात्र मौरीको संख्या ४० देखि ५० प्रतिशतले हराउदै गइरहेको तथ्यांक छ । युरोपमा पनि मौरीको संख्या बर्सेनि घट्दो क्रममा देखिन्छ । विश्वभर विषादीको बढ्दो प्रयोग र अनियन्त्रित भीरमाहुरी सिकारका कारण विश्वभर नै संख्या घटिरहेको फोब्र्सलगायत विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा समेत उल्लेख छ । विश्वभर २० हजार प्रजातिका मौरीले १ लाख ७० हजार प्रजातिका बिरुवालाई परागसेचन गर्छन् । माहुरीहरू मर्दै गएमा यी प्रजातिका विरुवा पनि हराउँदै जान्छन् ।

नेपालमा करिव २ लाख गोला माहुरी रहेको अनुमान छ । एउटा गोलामा ३० देखि ४० हजार माहुरी हुन्छन् । नेपालमा लोकल जातका सेरेना माहुरी र विकासे जातका मेलिफेरा माहुरी घर पालुवा माहुरी हुन् भने भीर माहुरी र कठौरी जातका जंगली माहुरी जंगलमा पाइन्छन् । करिब १ लाख २० हजार सेरेना र ५० हजारको संख्यामा मेलिफेरा रहेको र भीरमौरीको संख्या १० देखि १२ हजारको संख्यामा रहेको तथ्यांक छ । यद्यपि, यस विषयमा नेपालमा कम मात्र अध्ययन हुने गरेको र सरकारी लगानी समेत न्युन हुने गरेको देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?