निषेधाज्ञा: पर्वतका कृषकलाई छैन बजारको समस्या

प्राङ्गारिक तरकारी खेती

पर्वत: अघिल्लो वर्षको निषेधाज्ञाको अवधिमा करोडौँ मूल्यको तरकारी, फलफूल कुहाउन बाध्य भएका पर्वत कृषकले यस वर्ष भने राहत पाएका छन् ।

विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको भए पनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानले बताएका छन् ।

गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानले बताएका हुन् ।

जिल्लाको जलजला गाउँपालिका–७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै तरकारी कुहिए पनि यस वर्ष भने कुनै समस्या नभएको जानकारी दिए। उनले ढुवानीका साधनलाई स्थानीय प्रशासनले आवातजावतमा कुनै रोक नलगाएपछि तरकारी ढुवानीमा बाधा नभएको बताए ।

जलजला कृषि बजारले पनि किसानका उत्पादन गाउँमै पुगेर ढुवानी गर्दै आएको छ। स्थानीय कृषक नरबहादुर केसीले जलजला कृषि बजारले गाउँमै आएर तरकारी ढुवानी गरिदिँदा बिक्री नहुने समस्या हटेको बताए ।

जिल्लाको मोदी गाउँपालिकामा उत्पादित तरकारी तथा दूध मोदीखोला बहुउद्देश्यीय सहकारीले स्थानीय बजारसँगै पोखरासम्म बजारीकरणमा सहजीकरण गर्दा बिक्रीको समस्या नरहेको बताएका छन् ।

सहकारीका अध्यक्ष गङ्गा तिमिल्सिनाले किसानका उत्पादन ढुवानी र बिक्री वितरणमा सहयोग गर्दै आएको बताए। कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका किसानले डोकोमा बोकेर भए पनि कुश्मामा तरकारी बेच्दै आएका छन् ।

गत वर्ष भने कोरोनाको त्रासले उपभोक्ताले बजारको तरकारी किनेर नखाने समस्यासमेत थियो। यस वर्ष जिल्लाभर निषेधाज्ञा भए पनि तरकारीको ढुवानीमा कुनै रोकतोक नभएको किसानहरुले बताएका छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले बाहिरी जिल्लाबाट ढुवानी रोकेर जिल्लाभित्रको उत्पादन आन्तरिक बजारमा खपत गर्न थालिएकाले किसानलाई बजारको समस्या नभएको जानकारी दिए। उनले पोखरा, काठमाडौँ, चितवनतिरबाट आउने तरकारी नल्याउन व्यापारीलाई अनुरोध गरिएको र सकेसम्म जिल्लाकै किसानको उत्पादन बेच्न भनिएको बताए ।

अहिलेको सिजनमा पर्वतमा घिरौँला, काँक्रा, मुला, सिमी, गाँजर, करेला, जुकेनी, लौकालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ। स्थानीय गोलभेँडाको भने बजारमा माग उच्च छ तर उत्पादन कम रहेको छ ।

पर्वतका किसानले कुश्माबजारबाहेक बागलुङ, म्याग्दी, पोखरा र मुस्ताङसम्म तरकारी बिक्री गर्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?