बाध्यतामा किसान : मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य

परासीः बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीले यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य भए ।

दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उनी बताउाछन्। स्थानीय हाटबजारहरुमा आफै तरकारी बिक्री गर्दै आएका कोइरीले कोरोना भाइरसको महामारी शुरु भएपछि विगत दुई वर्षदेखि विशेषगरी मुलामा ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरे ।

एक बिघा भन्दा बढी जग्गामा उहाँले लगाएका तरकारी बारीमा लटरम्म फलेका छन्। उनले मुला, काउली, खुर्सानी, बन्दा, धनिया, गाजर ,आलु, प्याजलगायत खेती गरेका छन्। बजार लैजान नपाएपछि कि त बारीमै नष्ट गर्नुपर्ने कि त सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यतामा पुगेको कोइरी बताउँछन्। यसवर्ष तीन कठ्ठा भन्दा बढीमा लगाएको तीन क्विन्टल बढी मुला नोक्सान भएको उनले बताए ।

गत वर्ष पनि उत्पादन भएको ८० प्रतिशत मुला बारीमा नष्ट गर्नुपरेको उनले बताए। अहिले बजारमा मुला प्रति केजी रु २० देखि रु ४० सम्ममा बिक्री हुने गरेको छ। तरकारीखेती बाटै घर घडेरी जोड्नु भएका कोइरीले तीनजना छोराछोरीलाई उच्च शिक्षासम्म पढाउन सफल भएका छन् । तर, विगत दुई वर्षदेखि तरकारीमा ठूलो क्षति सहनुपरेको उनी बताउाछन्। महामारीबाट बच्न निषेधाज्ञा जरुरी रहेको बताउँदै उनले कोभिड प्रभावित कृषकलाई उचित राहत ल्याउनुपर्ने माग गरे ।

बजारमा तरकारी पाउन छोडेपछि उपभोक्ता पनि कृषकको बारीमा तरकारी खोज्दै पुग्न थालेका छन्। कोरोना भाइरसको सङ्क्रमण जोखिम र निषेधाज्ञाका कारण कृषकको खेतमा ताजा तरकारी किन्न आएको स्थानीय अर्जुन क्षेत्रीले बताए। कृषकहरूको तरकारी बिक्री नभएर खेतमै नष्ट भएको देख्दा दुःख लागेको उनले बताए ।

पन्ध्र धुरमा मुलाखेती गरेका अर्का कृषक रामनरेश राय पनि मुला बिक्री नभएर चिन्तित छन्। उनी पनि यस क्षेत्रका सफल तरकारी कृषक हुन्। एक बिघा भन्दा बढीमा उनले विभिन्न जातका तरकारीखेती गरेका छन्। मुलाखेतीमा भने घाटा सहनुपरेको उनी बताउँछन् ।

बीउ, मल र ज्याला खर्च गरेर लगाएको मुलाले बजार नपाउँदा खेतमै नष्ट गर्नुपर्‍यो। “खेती गर्ने बेला न समयमा मल पायौं न बीउ नै, अहिले फेरि बिक्री गर्न पाईएन”, उनले भने। कोरोना सङ्कट लम्बिरहे अब तरकारी खेतीबाट विस्थापित हुनुपर्ने अवस्था आएको कृषक रायको भनाइ छ ।

विगतमा तरकारी खेतीबाट मनग्य आम्दानी गरेर घरव्यवहार चलाउन र छोराछोरीलाई पढाउन समेत पुगेको भए पनि अहिले थला पर्नुपर्ने अवस्था आएको कृषक बताउँछन् । बजारमा लैजान नपाए पछि गाउँमै बाँड्ने वा खेतमै आउने उपभोक्तालाई सस्तो मूल्यमा मुला लगायत तरकारी बिक्री गर्नुपरेको कृषकको दुखेसो छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?