धान खेतीमा सघनीकृत प्रणाली प्रविधि (SRI Technology)

नेपालको प्रमुख खाद्यान्न बाली धान हो।नेपालका खाद्य बालीहरूमा धानले ४४% भाग ओगटेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार नेपालमा पनि करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान लगाइन्छ भने जसमा उत्पादन करिब ५६ लाख मेट्रिक टन रहेको छ। नेपालमा धान करिब ७०% बर्खे पानीको भरमा लगाइन्छ भने २१% सिंचाईको मदतले लगाइन्छ। त्यसैगरी ९% भने उच्च वा पहाडी भूमिमा लगाइन्छ। धानले कुल ग्रहस्थ उत्पादनमा ५.४४% योगदान दिएको छ भने कृषि ग्रहस्थ उत्पादनमा १६.४२ % योगदान दिएको छ।

परम्परागत खेती गरिरहेको एक किसानलाई “खेतमा पानी नजमाए पनि धान खेती गर्न सकिन्छ र बढी उत्पादन लिन सकिन्छ ।“भन्यो भने ऊ पत्याउँदैन । हुन त खेतमा पानी जमाएर धान खेती गर्दा झारमा कमी हुन्छ तर पानी जमाएका कारण धानको उत्पादनमा बृद्धि हुदैन । यस कुरालाई धान सघनीकृत प्रणाली प्रविधि अर्थात System of Rice Intensification, SRI ले पुष्टि गरेको छ । यस प्रविधिको विकास सन् १९६१ मा फेन्च पादरी सर हेनरी दी लाउलानिले गरेका थिए । दक्षिण अफ्रिकाको मेडकगास्कर भने देशमा पहिलो पटक यो प्रविधिको विकास भएको पाइन्छ भने नेपालमा विगत केही वर्षदेखि नेपाल कृषि अनुसन्धान परिषदद्वारा यससम्बन्धी परीक्षण भइरहेको छ । सन् २००२ मा पूर्वाञ्चल क्षेत्रिय कृषि निर्देशनालय र सुनसरी – मोरङ सिंचाई आयोजनाको संयुक्त्तमा मोरङ र सुनसरी जिल्लामा विभिन्न १२ स्थानमा सुरुवात भई थोरै क्षेत्रफलमा ९ देखि ११.२५ मेट्रिक टनसम्म उत्पादन रेकर्ड गरेको पाइएको छ । त्यसपछि लगातार आई. पी. एम. कृषक पाठशाला वा सोझै कृर्षकमार्फत यो प्रविधिको क्षेत्रफल र कृषक संख्यामा बृद्धि भएको भइरहेको छ।

सघनीकृत प्रणाली प्रविधिबाट हुने फाइदाः

यस प्रविधबाट कम सिंचाईमा पनि धानको उत्पादनमा २-३ गुना बढी गर्न सकिन्छ । यस प्रविधिमा बिउ कम चाहिने भएकोले कम लगानी र मझौला किसानका लागि यो प्रविधि अति उत्तम तरिका सावित भएको छ। यस प्रविधिबाट खेती गर्दा धानको जरा निकै बलियो र ठूलो हुनेहुँदा धानले प्रर्याप्त मात्रामा माटोमा रहेको पोषकतत्वहरु लिनुको साथै लाड्नबाट पनि बचाउदछ । यो प्रविधिको प्रयोग स्थानीय बिउमा पनि गर्न सकिन्छ। यस प्रविधिले सिंचाई, हावा, पानी आदिको राम्रोसँग व्यवस्थापन गर्ने भएकोले रोग र किरा पनि कम लाग्नुको साथै रसायनिक मल र विषादीको प्रयोगमा पनि कमि आउँछ । खेतमा पानी कम जन्माइएको कारणले माटो भित्र रहेको जैविक वस्तुहरुले अक्सिजनको मात्रा पाउने भएकोले यस प्रविधिले माटो मलिलो बनाउनुको साथै धानका जराहरू पनि कुहिदैन त्यसकारण बढी गुणस्तर धानको दानाहरू फल्छ। यस प्रविधिमा धान रोपाइँको अन्तर उचित प्रकारको तथा एकनासको ठाउँमा लगाउने भएकाले जग्गाको पनि सहि सदुपयोग हुन्छ।

सघनीकृत प्रणाली प्रविधि का सिद्धान्तः

  • कलिलो बेर्ना रोप्नेः
    धानको बीउ नर्सरीमा छरेको ८ देखि १२ दिनभित्र अथवा २-३ पातको भएपछि रोपाइँ गर्नुपर्छ । यो समयमा धानमा गाँज आउन सुरु हुन्छ त्यसैले यसबेलामा रोपेको बेर्नाबाट धेरै गाँज आउँछ । यदि २१ दिन पछि रोप्यो भने गाँज आउन कमि हुन्छ।
  • एक ठाउँमा एक बेर्ना मात्रै रोप्नेः
    एक ठाउँमा २-३ वोटा बेर्ना रोप्दा एक आपसमा खानाको लागि प्रतिस्प्रर्धा हुन् जाँदा राम्रोसँग बाली फस्टाउन सक्दैन । एक बेर्ना मात्र रोप्दा मलजल राम्रोसँग लिन पाई बिरुवाको राम्रो बृद्धि विकास हुन्छ।
  • पातलो रोप्नेः
    धान रोप्दा २५ देखि ३० से. मि. को फरकमा लगाउनु पर्दछ । यसरी पातलो रोपाइँ गर्दा राम्रोसँग गाँजिन गई उत्पादन वृद्धि हुन जान्छ। हावाको राम्रो आगमन हुनुको साथै सूर्यको प्रकाश बिरुवाले राम्रोसँग लिन पाउँछ । त्यसैगरी धान ढल्ने रोग र किरा कम लाग्ने हुन्छ । पातलो गरि रोक्दा बेर्ना पनि कम लाग्छ ।
  • धानमा कम पानी लगाउनेः
    धान खेतमा पानी बढी भए माटोभित्र हावा कम पस्ने हुन्छ । जसले गर्दा जराको बृद्धि विकास राम्रोसँग हुन सक्दैन। धेरै तलसम्मको खाद्य तत्व बिरुवाले लिन सक्दैन । पानी जम्मिरहँदा फलाम तत्व बढि हुन गई जिङ्ग तत्वको कमी हुन जान्छ । जसले गर्दा बिरुवाको बृद्धि विकास कम हुने, खिइँदै जाने, गाँज नहाल्ने र उत्पादनमा नकारात्मक असर पर्न जान्छ । तर बाला निस्कने बेलादेखि फुल फुल्ने बेलासम्म १ देखि २ से. मि.पानी जमाउदा धन दाना स्वस्थ र पोटिलो हुन्छ।
  • गोडमेल ३-४ पटक गर्नेः
    पातलो रोपाइँ एवं पानी कम लगाइने हुँदा बढी मात्रामा झारपातहरू आउँछ त्यसकारण आवश्यकताअनुसार ३-४ पटक गोडमेल गर्नु जरुरी छ । खेतमा बिरुवा सारेपछि पहिलो गोडमेल १० दिन पछि गर्ने र त्यसपछि अरु गोडमेल १४ दिनको अन्तरालमा वा आवश्यकता अनुसार गर्नु पर्दछ ।
  • प्राङ्गारिक मलको प्रयोग गर्नेः
    यो प्रबिधीमा धानले जमिनबाट धेरै पोषकतत्वहरु लिन्छ । तसर्थ यस प्रविधिबाट सकेसम्म धेरै प्राङ्गारिक मलको प्रयोग गर्दा फाइदा हुन्छ ।

यसरी सघनीकृत प्रणाली प्रविधि धेरै धान उत्पादनको हिसाबले र प्राकृतिक हिसाबले पनि लाभदायक हुन्छ । त्यसैले वर्तमान समयमा पनि यो प्रविधिको विकास र प्रवर्द्धन अति आवस्यक छ । यसको लागि नेपाल सरकारले पनि यस प्रविधिबाट किसानलाई धान लगाउन प्रोत्साहित गर्नुपर्छ र यस प्रविधिको बारेमा अझ धेरै अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?