पर्वतमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू

ड्रागन खेती

पर्वत : पर्वतमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू भएको छ । पर्वतको कुश्मा नगरपालिका–९ का एक कृषकले जिल्लामै पहिलो पटक यसको खेती सुरू गरेका हुन् ।

सदरमुकाम कुश्माबजार नजिकै रहेको कुस्मा–ज्ञादी अग्लो झोलुङ्गे पुलदेखि २ मिनेटको दूरीमा स्थानीय कृषक डिल्लीप्रसाद लामिछानेले व्यावसायिक रुपमा ‘ड्रागन फ्रुट’ खेतीको सुरुवात गरेका हुन् ।लामिछानले पहिलो पटक तीन सय वटा पिलरमा १२ सय बोट ‘ड्रागन फ्रुट’को बिरुवा रोपेको जानकारी दिए । पहिलोपटक परीक्षणको रुपमा १२ सय बोटमात्रै रोपेको र यो फस्टाउँदै गएको थप क्षेत्रफल समेत थप गर्ने लामिछानले बताए ।

पर्वतमा धेरैका लागि ‘ड्रागन फ्रुट’ खेती अनौठो र नौलो मानिन्छ । लामिछानेका छोरा प्रदीप लामिछाने काठमाडौंमा जागिर गर्दै आएका छन् । उनले नेपालका विभिन्न स्थानमा गरिएको ‘ड्रागन फ्रुट’को खेतीका बारेमा युट्युबमा देखे । नजिकका साथीभाइसँग यस फलका बारेमा जानकारी पनि लिए । पर्वतमा पनि यस खेती गर्नुपर्छ भन्ने सोच बनाएर बुबासँग घर सल्लाह गरी ‘ड्रागन फ्रुट’को बिरुवा काठमाडौंबाट पर्वत ल्याएर रोपेको लामिछानेले बताए ।अहिले ५ रोपनी जमिनमा ३ सय वटा पिलर बनाइएको छ ।

एउटा पिलर बराबर ४ बिरुवाको दरले ३ सय पिलरमा १२ सय वटा बिरुवा लगाइएको छ । केही समयपछि बिरुवा थप गर्ने लामिछानेले बताए । “हामीसँग जम्मा १३ रोपनी जग्गा छ, २ सय पिलर थपेर ८ सय बिरुवा लगाउने चरणमा छौं” उनले भने, “अरू बाँकी जमिनमा घाँस र केरा खेती गर्ने छौं ।” लामिछानेले ५ रोपनी बाहेकको जमिन लिजमा लिएका हुन् ।

लामिछाने नजिकै कटुवाचौपारी स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत हुन् । यो खेतीसँगै उनी पशुपालन व्यावसायमा समेत आवद्ध छन्
पर्याप्त घाम लाग्ने र समुद्री सतहदेखि १५ सय मिटरको उचाइको जमिनमा यस फलको खेती गर्न सकिन्छ । पानी जम्ने ठाउँमा यसको बिरुवा हुर्कन नसक्ने भएको हुँदा पानी नजम्ने ठाउँ उपयुक्त हुन्छ ।

अनुदानको पछि किसान दगुर्ने नभई किसानका पछि अनुदान दगुर्नु पर्नेमा लामिछानेले जोड दिए । उनले यो खेतीवाट वार्षिक ७ देखि १० लाखसम्म आम्दानी हुने अपेक्षा गरेका छन् ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments