बाँस र नियालोले परिवार धान्दै

लमजुङ । सेतै फुलेको दारी, कपाल । चाउरिएका मुहार । शिरमा टाका टोपी, शरीरमा भोटो र कच्छाड र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई हातमा लिएको हँसियाले बाँस, नियालोको चोयासँगै रमाउनु हुन्छ, दोर्दी गाउँपालिका—३ नौथर शेराका ८० वर्षीय बाडी गुरुङ ।

आराम गरेर बस्नुपर्ने उमेरमा युवाहरु भन्दा व्यस्त हुनुहुन्छ उनी । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका बीचमा समेत उनी बिहान कुखुराको भाले बाँसेसँगै उठ्छन् । हातमुख धोएपछि आफैँ खाजा बनाएर खान्छन् र थाल्छन् पसिनाको व्यापार उसैमा उनको सीप झल्किन्छ र पेशा चल्न थाल्छ । कहिले बाँस तथा नियालो लिन घरबाट एक घण्टा टाढा श्रीमञ्जाङका गाउँहरुमा पुग्ने गर्छन् । बाँस तथा नियालो काटेर आफैँले नै बोकेर घरसम्मै ल्याउँछन् ।

यतिकैमा उनको पेशा रोकिन्न । अनि बाँस तथा नियालो खुर्किन र काट्न तथा चोयाको सामग्री बनाउनका लागि तयार गर्छन्। त्यसपछि स्याखु, डोको, थुम्से, नाम्लो, नाङ्लोलगायतका सामग्री बुन्छन् । उनको यस्तो सीप तथा जाँगर देख्दा जो कोही पनि मोहित पर्ने गर्दछन् । कम बोल्ने तथा लजालु स्वाभाव भएकाले जो कोही सँग हतपत खुलेर कुरा गर्नु मान्नु हुन्न । आफूसरहका अरु बुढापाकाहरुसँग पनि बसेर उनी समय खर्चिन चाहदैनन्। उनी भन्छन्, “अरुसँग गफिएर बस्नुभन्दा त आफ्नो सीप अनुसारको काम ग¥यो भने दुई÷चार पैसा पनि आम्दानी हुन्छ ।”

उनलाई भेट्ने अधिकांश मानिसले उनको काम तथा सीपको बारेमा र उनको जीवनको बारेमा चासो राख्ने गर्दछन् । कतिपयले उनले यस उमेरमा पनि यस्तो काम बाध्यताले गर्नुभएको होला भन्ने ठान्छन् । उनलाई काम नगरी खानै नपुग्ने अवस्था पनि छैन । उनका छोरा बुहारी रोजगारीको सिलसिलमा घर बाहिर रहेका छन् भने दुई वटा नाति उनीसँगै बस्दछन् । आफ्नो कमाइले तीनजनालाई सजिलैसँग पुगेको उनी बताउँछन् ।

उनको यो पेशा बाध्यता नभई जानेको सीप र फुर्सदको समय सदुपयोग गरेका हुन् । उनले भने, “सानै हुँदा लेकमा गोठालो जाँने बेलामा जानेको सीप घर फर्के पछि २० वर्षदेखि यही पेशा गर्दै आइरहेको छु । स्वास्थ्यले साथ दिउञ्जेल काम गरिरहने छु । बेलामा पढाइ पनि भएन, अरु पेशा पनि जानिएन । आफूले जे जानेको छ, त्यही गर्ने त हो नि ।”

उनलाई केही काम नगरी त्यतिकै घरमा बसेर समय कटाउन निकै गाह्रो लाग्छ । उनी भन्छन्, “यसरी काम गर्दा दिन बितेको पत्तै हुँदैन । दिन पनि कटाउन सजिलो, आम्दानी पनि राम्रो हुन्छ ।” उनहाँँको सीप बिक्री गरेर आएको आम्दानीले घर खर्च चलेको छ । उनले बुनेका स्याँखु, डोको, थुम्से, नाम्लो, नाङ्लोलगायतका सामग्रीबाट महिनामै कम्तिमा पनि २५÷३० हजार रुपैयाँ सजिलै कमाइ हुन्छ । एक दिनमा एउटा स्याखु बुनिसक्ने, डोको, थुम्से, नाङ्लो त एक दिनमै तीन वटासम्म तयार गर्ने गरेको उनले सुनाए। उनले बुनेका प्रति स्याखु रु ८००, डोको, थुम्से रु ३००, चाल्नो रु ५०० मा सजिलै बिक्री हुने गरेको छ ।

यस गाउँमै उनले मात्र यस्तो पेशा गर्ने भएकाले घरमै नै ती सामग्रीहरु लिन आउने गरेकाले बिक्रीमा कुनै समस्या छैन । यतिबेला त खेतिपाती गर्ने समय आउन थालेकाले माग पनि बढिरहेको उनको भनाइ छ । ती सामग्री लिनका लागि नौथर शेरा, रामचोक बेँसी, श्रीमञ्जाङका विभिन्न गाउँ, बगर गाउँलगायतका वासिन्दाहरु आउने गरेको गुरुङले बताए ।

उनले भने, “जताततै कोरोना महामारी आएको छ भन्छन्, तर मलाई त केही थाहा छैन, सधैँ यी काममा मात्र ध्यान जान्छ ।” आफूले गाउँका युवाहरुलाई आफूले जानेको सीप सिकाउन खोज्दा कसैले पनि चासो नदेखाएको उनको भनाइ छ । “भोलिका दिन यस्ता सामग्रीहरु लोप हुने हुन् कि भन्ने चिन्ता लाग्छ” उनी भन्छन्, “युवाहरु काम नपाएर विदेश जान रुचाउँछन् तर विदेशको भन्दा राम्रो कमाइ घरमै बसेर हुनेतिर कसैको ध्यान छैन ।” यो पेशालाई आफूले सकेसम्म अझै केही वर्ष निरन्तरता दिने उनको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?