मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब रु ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरप्रमुख छत्रराज पौडेलले मकै कृषकलाई आधुनिक कृषि औजार प्रदान गर्नुभएको हो । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री कृषकलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिनुभयो । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ । किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताउनुभयो ।

नगरप्रमुख पौडेलले नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । गैँडाकोटका अधिकांश व्यक्ति कृषि पेशामा संलग्न भए पनि नगरपालिकाबाट प्रदान गरिने अनुदानवापतको कृषि कार्यक्रममा सम्झौता गर्न आउनेको सङ्ख्या भने न्यून रहेको पौडेलले जानकारी दिनुभयो ।नगरपालिकासँग कृषिसम्बन्धी बजेट भए पनि खर्च गर्ने ठाउँ नभएको भन्दै नगरप्रमुख पौडेलले मेहनत गर्ने जोकोहीलाई पनि प्रक्रियामा रहेर पूर्ण सहयोग गर्ने बताउनुभयो । गैँडाकोट धान, मकै, च्याउ आदिमा आत्मनिर्भर रहेको जनाउँदै उहाँले स्थानीय तहसँगै सङ्घ र प्रदेश सरकारबाट कृषिमा पर्याप्त सम्बोधन भएको जानकारी दिनुभयो ।

नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमका लागि सहकारीसँग रु ३५ लाख ८८ हजारको सम्झौता गरेर कृषकलाई कृषि औजार प्रदान गरिएको कृषि शाखा प्रमुख राजु शर्माले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?