कफी खेतीमा युवा पुस्ताको आकर्षण

फुङ्लिङ: ताप्लेजुङ जिल्लामा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर आकर्षण बढ्दै गएको छ ।

कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले बिस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो। पछिल्लो समय कफीको बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किसानले व्यावसायिकरूपमै खेती शुरु गरेका हुन् ।

हाल आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ र वडा नं ५ चाँगे तथा मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका किसानले व्यावसायिकरूपमा कफी खेती शुरु गरेका छन्। शुरुमा परीक्षण गर्दा नै कफी राम्ररी फस्टाएको र कफीका लागि उपयुक्त हावापानी र जमीन रहेको पाइएपछि स्थानीय किसानले व्यावसायिक खेती शुरु गरेको बताइएको छ ।

किसानका अनुसार अहिले धमाधम कफी खेती विस्तार हुन थालेको छ। ढुङ्गेसाँघुका किसान चन्द्र तामाङले हाल व्यावसायिक कफी खेती शुरु गरेका छन्। चार वर्ष अघिदेखि कफीको बिरुवा रोप्न शुरु गरेर अहिलेसम्म करिब ४० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको तामाङले बताए। उक्त क्षेत्रफलमा एकहजार ५०० बिरुवा रोपेको र शुरुशुरुमा रोपेको बोटमा फल लाग्न थालेको उनले बताए ।

उनले यसवर्ष चारहजार किलोग्रामसम्म कफी उत्पादन हुने बताए। ढुङ्गेसाँघुकै अर्का किसान ध्रुव वनेमले कफीको व्यावसायिक खेती शुरु गरेका छन्। वनेमले १५० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब दुई हजार ५०० बिरुवा लगाएका छन्। उनको खेतीबाट पनि उत्पादन हुन थालेको र दुई हजार ५०० किलोग्रामसम्म उत्पादन हुने अनुमान लगाएको उनको भनाइ छ। तामाङ र वनेमसहित ढुङ्गेसाँघुका छ जना किसानले व्यावसायिक कफी खेती शुरु गरेका छन् ।

यस्तै, आठराई त्रिवेणी–३ हाङ्पाङका किसान लक्ष्मीप्रसाद पोखरेलले पनि आफूले लगाएको कफी खेतीबाट उत्पादन हुन थालेको जानकारी दिए। सोही गाउँपालिकाको वडा नं ५ चाँगेका स्थानीय किसान घनु गौतमले पनि व्यावसायिक कफी खेती लगाएका छन्। यसरी हाङ्पाङ र चाँगेमा दर्जनौँ किसानले व्यावसायिकरूपमा कफी खेती शुरु गरेको बताइएको छ ।

यता, कफी खेतीबाट आम्दानी पनि हुन थालेको किसानले बताएका छन्। उत्पादित कफी अहिले प्रतिकिलोग्राम रु ८० ले बिक्री गर्दै आएको किसानको भनाइ छ। प्रशोधन गरेको कफी भने प्रतिकिलो रु ७०० का दरले बिक्री हुने हुँदा किसान आफैँले गाउँमै कफी प्रशोधन गर्ने व्यवस्थाका लागि जुट्दै आएको पनि बताएका छन्। हाल व्यावसायिक खेती शुरु भएको क्षेत्र ढुङ्गेसाँघु, चाँगे र हाङ्पाङबाट करिब १० हजार किलोग्रामसम्म कफी उत्पादन हुन थालेको ढुङ्गेसाँघुका किसान तामाङले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?