फलेको आँप बाहिर पठाउन नसक्दा मारमा किसान, उत्पादन घट्यो

लहान : आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादन ह्वातै घटेको छ । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष उपयुक्त नभएको र रोग किराको समेत प्रकोप बढेकाले आँप उत्पादन घटेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ । सिरहामा ६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँपखेतीबाट प्रतिहेक्टर ५ दशमलव ५ मेट्रिक टन दरले यसवर्ष ३३ हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख किसुनदेव यादवले जानकारी दिनुभयो । यस्तै सप्तरीमा ७ हजार हेक्टर क्षेत्रफलमा लगाइएको आँपखेतीबाट प्रतिहेक्टर ६ मेट्रिक टनका दरले ४२ हजार मेट्रिक टन आँप उत्पादन भएको जनाएको छ ।

अघिल्लो वर्ष सिरहामा ६ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १४ दशमलव १ मेट्रिक टनका दरले ८४ हजार ६०० मेट्रिक टन आँप उत्पादन भएको थियो । यसवर्ष एकातिर आँप उत्पादन घटेको छ भने अर्काेतिर फलेको आँप बाहिर जिल्ला पठाउन नसक्दा उचित मूल्य नपाएको किसानको गुनासो छ । लामो समयको निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन सञ्चालन नहुँदा टिपेर समयमा बाहिर जिल्ला पठाउन नसकेपछि यसवर्ष आँपको उचित मूल्य नपाएको गुनासो गरेका हुन् । ‘‘अघिल्लो वर्ष पनि आँप प्याकिङ्ग गरेर जिल्ला बाहिर पठाउन सकेनौं”, सिरहाको लहान नगरपालिका—१५ का किसान रामनाथ चौधरीले भन्नुभयो, ‘‘ यसपालि पनि गाडी नचल्दा अहिलेसम्म आधा पनि आँप टिप्न सकेका छैनौं ।” समयमा आँप टिप्न नसकेकाले बोटमै कुहिन थालेको समेत उहाँको गुनासो छ ।

“बोटमा मंजुरा लागेको बेला यसपालिका कमाई राम्रै हुने भनेर दङ्ग थिए”, उहाँले भन्नुभयो, “आँप त यसवर्ष एकातिर उत्पादन थोरै भयो, अर्काेतर्फ कोरोना महामारीका कारण आँप बाहिर जिल्ला पठाउन सकेनौं ।” जसकाकारण आँप बोटमै पाकेर कुहिन थालेको छ भने बजारमा उचित मूल्य समेत पाउन नसकेको उहाँको भनाइ छ । “निषेधाज्ञाका कारण बाहिरबाट खरिद गर्ने व्यक्तिहरु नआउँदा बजार र चोकमा पसल थापेर खुद्रा रुपमा आँप बिक्री गर्न थालेका छौं”, सप्तरीको सुरुङ्गा नगरपालिका—७ कुशहाका किसान जगदीश चौधरीले भन्नुभयो, ‘‘एकातिर आँप कुहिन थालिएको छ भने अर्काेतिर उचित मूल्य नपाएकाले निराश भएका छौं ।”

अघिल्ला वर्षहरुमा आँप पाक्नुभन्दा अघि नै व्यापारीहरु बँगैचामै आएर खरिद गर्ने गरेपनि यसवर्ष व्यापारी खरिद गर्न नआएकाले आँप जिल्ला बाहिर पठाउन नसकिएको उहाँको भनाइ छ । सिरहा र सप्तरीमा फल्ने आँप काठमाडौं, बिराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतमा समेत निर्यात हुँदै आएको छ । तर यसवर्ष सार्वजनिक यातायातका सवारीसाधनहरु सञ्चालन नहुँदा गाउँ र चोकचोकमै राखेर आँप विक्री गर्न बाध्य भएको किसानहरु बताउँछन् । ‘‘गाडी नचल्दा आँप न त बाहिर पठाउन सकियौं, न त व्यापारी नै खरिद गर्न आयो”, लहानका अर्का किसान बलिराम यादवले भन्नुभयो,‘‘ त्यसैले बजार र चोकमै छाप्रो हालेर खुद्रा रुपमा आँप बेच्दै आएका छौं ।” यसरी खुद्रा रुपमा बेच्दा उचित मूल्य नपाएको उहाँको दुःखेसो छ ।

अहिले सिरहा र सप्तरीका बजारमा मालदह प्रतिकिलो रु.५०, बम्बई रु. ७०, सरही रु. ३० र अन्य आँप रु.४० मा बिक्री भइरहेको छ । यो मूल्य बिगत ५ वर्षयता कै सस्तो भएको किसानको भनाइ छ । लहान नगरपालिका— १० का किसान रामस्वरुप साहले आँपको मूल्य निर्धारण गरेर एकद्वार प्रणलीबाट खरिद गरेर किसानलाई उचित मूल्य दिलाउन स्थानीय र प्रदेश सरकारले अनुगमन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?