छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला बनाई कुलो लगाई पानी आएर गोडौंला: ‘किसानको रहर’

कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ । भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो । खासगरी वि.सं. २०२१ बाट कविता र गीतबाट लेखनबाट उनले साहित्यिक यात्रालाई मुर्तरुप दिएका हुन् । उलने बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत कलम चलाएका छन् ।

शीर्षकः किसानको रहर

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान

बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?

गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी

सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा

सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

फोटो : निकेश श्रेष्ठ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments