व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण

किसानलाई भैँसी

जुम्ला : जुम्लाको चन्दनाथ नगरपालिकाले व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैंसी र उन्नत बाख्रा वितरण गरेको हो ।

चन्दननाथ नगरपालिकाका वडा नं.३,८ र ९ का किसानलाई गाउँमै पुगेर भैंसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको मेयर कान्तिका सेजुवालले बताइन् ।उनले भनिन्, “कोरोना रोजगारी सयौको रोजगारी गुमेको छ । उद्योगधन्दा सञ्चालको अवस्था छैन । नगरभित्रका विपन्न तथा कृर्षकलाई ७५ प्रतिशत अनुदानमा भैंसी बाख्रा दिएका छांै । कृर्षकको आयआर्जनमा थप सुधार हुने अपेक्षा छ ।”

मेयर सेजुवालका अनुसार चन्दननाथ नगरपालिकाको वडा नं. ३ मा ४२ वटा उन्नत बाख्रा, ८ नम्बर वडामा १० वटा दुहुना भैंसी, १ राँगा र ४२ वटा बाख्रा वितरण गरिएको छ भने, ९ नम्बर वडामा पनि १० भैंसी र १ वटा राँगा वितरण गरिएको हो ।

२५ प्रतिशत किसानको लागत साझेदारी र ७५ प्रतिशत नगरपालिकाको सशर्त तर्फको बजेटबाट किसानलाई भैंसी, बाख्रा उपलब्ध गराइएको हो । चन्दननाथ नगरपालिकाको पशु शाखामा सूचीकृत भएका तथा विगतदेखि पशुपालनमा लागेका कृर्षक तथा समुहले मात्रै सेवा पाएको मेयर सेजुवालको भनाइ छ ।

किसानलाई करिब ३६ लाख बराबरका भैंसी राँगा र बाख्रा वितरण गरिएको छ । मेयर सेजुवालले थपिन, “८ र ९ नम्बर वडामा २१ लाख बराबरका २० वटा भैंसी र २ वटा राँगा वितरण गरिएको छ भने, वडा नम्बर ३ र ८ मा १५ लाखका ८४ वटा उन्नत बाख्रा वितरण गरिएको छ ।”

व्यवसाय प्रर्वद्धनसँगैै कृर्षकको जीवनस्तरमा सुधार भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरिने भएको छ । राम्रो गरेका किसानलाई भैंसीको दूधबाट परिकार बनाउन सीप र प्रविधि दिइने छ ।

बाख्रा पालनका लागि आधुनिक खोर निर्माणलाई अघि बढाइने भएको छ । यद्दपी, लक्ष्य अनुसार व्यवसाय अघि बढाएका किसानलाई भने भविष्यमा अन्य सरकारी सेवा सुविधाबाट समेत बञ्चित गराइने छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments