बागलुङका ६६ घर उच्च जोखिममा, तीन गोठ पूर्ण रुपमा क्षति दर्जन बढी घरपरिवार विस्थापित

गलकोट: बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन्। बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेका प्रहरीले जनाएको छ ।

वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन बढी घरपरिवार विस्थापित भएका थिए। उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन्। काठेखोला ,बडीगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ ।

पहिरामा २५ घर र तीन गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। मानवीय क्षति हुने सम्भावना बढेपछि जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ। बाढीपहिराबाट यस अवधीमा रु डेढ करोड भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

यही असारको पहिलो साता नै बागलुङ नगरपालिका–७ पैराबारीमा घरमाथिबाट झरेको पहिरोले एक घर भत्काएको थियो भने एक घर उच्च जोखिममा पारेको थियो। पहिरोका कारण स्थानीयवासी रवीलाल गौतमको घर गोठ भत्काएको थियो भने गोठमा रहेको भैसी पुरिएर मरेको छ। सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेपछि परिवार विस्थापित भएको जनाइएको छ ।

वर्षात्का कारण बागलुङ –४ स्थित नन्दलाल पौडेलको घर भत्केको र सोही स्थानका प्रदीप शेरचनको दुईतले पक्की घर, माया जिसीको कच्ची घर पहिरोका कारण उच्च जोखिममा परेपछि विस्थापित भएको थियो। बागलुङ–१३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरको अगाडि र पछाडीबाट पहिरो झरेपछि घर उच्च जोखिममा परेको थियो ।

बरेङ गाउँपालिका–१ भ्यूडाँडाका विशाल विकको घर पनि जोखिममा परेपछि उहाँको परिवार पनि विस्थापित बनेको छ। त्यसैगरी, गलकोट –४ चमुवाकी स्थानीय चन्द्रकला क्षेत्रीको घर पछाडिबाट पहिरो झरेपछि दुई तले कच्ची घर उच्च जोखिम परेको छ। घर जोखिममा परेपछि उहाँको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

गलकोटकै डाँडाखेतमा पनि पहिरोले स्थानीय देवबहादुर खत्रीको घर उच्च जोखिममा परेपछि उनको परिवार विस्थापित भएको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हवारीको भनाइ छ। जिल्लाको जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

अविरल वर्षाको कारण जैमिनी –७ जैदीका ८ घर र काठेखोला– ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन्। वर्षाको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैमिनी जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको छ। पहिरोको कारण तीन घरपरिवारले आफन्तकोमा आश्रय लिएका छन् भने अन्य अन्य पाँच घरका व्यक्ति भने बसाइँ नै सरेको बताइएको छ। पहिराको कारण कालिदास शर्मा, लेखनाथ शर्मा र दीपक शर्माको परिवार आफन्तकोमा आश्रय लिएर बस्न बाध्य छन् ।

असारको पहिलो साता नै काठेखोला गाउँपालिका–७ रेशमा सडकमाथिबाट आएको पहिरोका कारण तीन घर विस्थापित भएका छन्। रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तर्गत जिरेदीको कालिका मन्दिरदेखि गगनपानीसम्मको सडकमा माथिबाट खसेको पहिरोको सडकमाथि र सडकमुनिका तीन घर विस्थापित भएको प्रहरीले जनाएको छ। विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा पनि दुई घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। पहिरोले स्थानीय मीनबहादुर विक र मनरमा विकको घर पहिरोको उच्च जोखिमा रहेकोले सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको बरेङ गाउँपालिकामा पनि १८ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँपालिकाको धुल्लुबाँस्कोटमा १४ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

धुल्लुबाँस्कोटको भीउँ डाँडामा तीन घर, लुगरुङमा चार घर, थापाथरमा तीन घरगोठ, उर्लेनिमा तीन घर र धुल्लुबाँस्कोट मिलन चोकमा एक घर पहिरोको उच्च जोखिममा छ। वडा नं २ को हुग्दीशिरमा तीन घर र वडा नं ५ सुखौरामा दुई घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीको भनाइ छ। त्यस्तै, जिल्लाको काठेखोला–८ लेखानीमा पनि नौ घर पहिरोको उच्च जोखिममा परेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments