वनस्पतिलाई खेतीको रूपमा विस्तार ,टिमुर तथा लौठसल्लाको बिरुवा रोपण

व्यावसायिक टिमुर खेती

रसुवा: वनस्पतिलाई खेतीको रूपमा विस्तार गरी आयस्तर बढाउने उद्देश्यले टिमुर तथा लौठ सल्लाको बिरुवा रोपण गरिएको छ ।

बाँझो बसिरहेको जमीन सदुपयोग गर्दै डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा उत्तरगया गाउँपालिका –१, २ र ३ मा उक्त जातका वृक्ष रोपण गरेको हो। कार्यालय प्रमुख रामकृष्ण केसीका अनुसार यस वर्षको कार्यनीतिअनुरूप ६३ हजार ८९० लौठसल्ला एवं ५१ हजार ४१८ वटा टिमुरको बिरुवा रोपण गरिएको छ ।

कार्यालयको वार्षिक समीक्षा बैठकमा उनले २२ हजार ५०० सतुवा र एक हजार ५०० कागतीका बिरुवासमेत रोपण गरिएको बताए। टिमुर तथा लौठसल्लाको खेतीले स्थानीयबासीको आयश्रोतमा वृद्धि हुने जनाइएको छ। जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले फलफूल एवं अन्य नगदेबालीका वृक्षरोपण गर्न आवश्यक रहेको बताए ।

टिमुरको बिरुवाले तीनवर्षदेखि र लौठसल्लाको बिरुवाले सातवर्षदेखि लाभ लिन सकिने वन अधिकृत केसीले जानकारी दिए। हुर्किएपछि प्रतिवर्ष लौठसल्लाको एक बोटले १० केजी वजन बराबरको पात दिने र यसको वर्तमान बजार मूल्य भने रू २५० देखि दुई सय ७५ सम्म रहेको बताइएको छ ।

रोपणको समयमै प्रत्येक बिरूवालाई छेकवार गर्नुपर्ने कार्यालयका सूचना अधिकारी बद्री ढुङ्गानाले बताए। तीन वर्षमै फलदिने टिमुर भने प्रतिमाना रू १०० का दरले स्थानीयस्तरमै खपत भइरहेको वन प्राविधिक बताउँछन्। डढेलोको कारण उजाड बनेको गतलाङ पाखा सामुदायिक वनमा एक लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।

बहुवर्षे नीतिका साथ धुञ्चेस्थित कार्यालय परिसरमा नर्सरीसमेत स्थापना भएको र आगामी वर्षमा रोपण गर्ने लक्ष छ। यसैगरी, ग्रामीण बासिन्दालाई आयआर्जन बढाउन ओखर चार हजार एवं स्याउ दुई हजार ५०० गतलाङ , गोल्जुङका साथै डाँडागाउँ क्षेत्रमा वितरण गरिएको छ। पूर्वाधार विकासतर्फ सो कार्यालयले दिगो नर्सरी, डाँडागाउँमा जलाधार संरक्षण, गतलाङस्थित धार्मिक उद्यान, कालिका गाउँपालिकाको स्याउबारी क्षेत्रमा पर्यटन प्रवद्र्वन पूर्वाधार निर्माण गरिएको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?