सौर्य सिँचाइ आयोजनाअन्तर्गत अनुदानको नाममा ठगिए किसान

रामेछाप :

सौर्य सिँचाइ आयोजनाअन्तर्गत अनुदानको नाममा रामेछापका किसानहरूले ठगिएको गुनासो गरेका छन्। कृषि ज्ञान केन्द्र रामेछापले मागमा आधारित सौर्य सिँचाइ कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँको प्याकेजमा किसानलाई ८० प्रतिशत अनुदान दिने गरी सौर्य सिँचाइ प्रणाली जडानको कार्यक्रम सञ्चालन गरेको थियो।

१ लाख ५९ हजार रुपैयाँबराबरको मात्रै सामान पाएको किसान सम्मर माझीले बताए। किसानले व्यहोर्नुपर्ने २० प्रतिशतबापत हुन आउने एक लाख रुपैयाँ भने किसानहरूले अल्ट्रा इन्फोसिस् कम्पनीलाई भुक्तानी दिएका छन्। किसानले बुझाएका २० प्रतिशतमा पनि दर फरकफरक पाइएको छ। एकै प्रकृतिको सामानमा केही किसानसँग ८७ हजार ३ सय रुपैयाँ र केहीसँग १ लाख २ हजार ५ सय ३९ रुपैयाँ असुल गरिएको छ। कार्यक्रमको सम्झौतापत्रसमेत आपूmहरूलाई नदिएको अर्का किसान जीवन थापामगरले बताए।

किसानलाई अल्ट्रा कम्पनीले ३३५ वाटको सोलार प्यानल तीन वटा, केही किसानलाई एक हर्स पावर र केहीलाई दुई हर्ष पावरको मोटर र कन्ट्रोलर दिएको छ। मोटरको अधिकतम बिक्री मूल्य भ्याटसहित २१ हजार चार सय रुपैयाँ उल्लेख छ।

एउटा सोलार प्यानको मूल्य ३५ हजार रुपैयाँ पर्ने अल्ट्रा कम्पनीले जनाएको छ। कन्ट्रोलरको मूल्य १ हजार ८ सय रुपैयाँ छ। सौर्य प्रणाली जडान गरिए पनि पानी भने नतानेको किसान दत्तबहादुर विकले बताए। प्राविधिकले घाम लगेपछि पानी तान्छ भने पनि घाम लाग्दा पनि पानी नतालेको विकको भनाइ छ।

घाम लाग्दासमेत पानी नतानेपछि कृषि ज्ञान केन्द्रलाई जानकारी गराउँदा अर्को वर्ष राम्रो कार्यक्रम पारिदिउँला भनी आश्वासन दिएको किसान सम्मर माझीले गुनासो गरे। ज्ञान केन्द्रका कर्मचारी भने कार्यक्रमप्रति सन्तुष्ट रहेको भनी लेखिएको पत्र लिएर किसानलाई हस्ताक्षर गराउन घरघरमा पुगेका छन्। सामान ल्याउने कम्पनीले बदमासी गरेको कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङले बताइन्। सौर्य ऊर्जा प्रणालीले पानी नतानेसम्म कम्पनीलाई भुक्तानी नदिइने पनि गुरुङले बताइन्।

किसानहरू ठगिएको पाइएकाले किसानलाई ठगिन नदिन पहल गर्ने रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले बताए। नगरपालिकालाई जानकारी नदिई कार्यक्रम सञ्चालन गरेर किसानलाई ठगेको पाइएको उनको भनाइ छ। कृषि ज्ञान केन्द्र रामेछापले जिल्लामा २५ वटा कृषि फार्मलाई मागमा आधारित सौर्य सिँचाइ कार्यक्रमअन्तर्गत अनुदान दिएको थियो। -अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments