चितवनमा एक हजार सात सय कृषि उद्योग दर्ता

कृषि उद्योग दर्ता

चितवन: गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकामा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् ।

कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको सङ्ख्या अन्य क्षेत्रको भन्दा बढी भएको जानकारी दिए। पछिल्ला वर्षमा त्यस्ता उद्योग दर्ता हुने क्रम बढ्दो रहेको उनको भनाइ छ ।

त्यस्ता, उद्योगमा अनुदान र सहुलियत ऋण उपलब्ध हुनाले उद्योग दर्ता हुने क्रम बढेको हो। अन्य व्यवसायभन्दा कृषिजन्य व्यवसाय जोखिम कम हुने र सजिलै गर्न सकिने हुँदा विदेशबाट फर्किएर पनि उद्योग सञ्चालन गर्ने गरेको पाइन्छ। निषेधाज्ञाका कारण विदेश जान रोकिएकाहरुले पनि उद्योग दर्ता गरेका छन् ।

उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषिका ऋणमा अनुदान र व्यवसायमा पनि सहुलियत पाइने हुँदा धेरैको ध्यान कृषि उद्योगमा गएको हो। उनले भने, “कृषि नै गर्दा त राम्रो हो तर कृषिको नाममा अनुदान लिएर अन्य काम गर्ने धेरै छन् ।”

यस जिल्ला कृषिका लागि राम्रो भएको जनाउँदै अनुदानलाई कृषिमा नै प्रयोग गर्न कँडेलले सुझाव दिए। कुखुरापालन, पशुपालन, तरकारी खेती जस्ता काम गर्नका लागि कृषिजन्य उद्योग दर्ता हुने गरेका छन्। कुखुरापालनमा चितवन देशकै अग्रणी जिल्ला हो। दूध उत्पादनमा स्थानीय तहमा भरतपुर महानगर पहिलो हो ।

त्यसैगरी, तरकारी, केरा, मौरीपालन लगायतमा जिल्ला अग्रणी मानिन्छ । जिल्लामा सबैभन्दा कम एउटा मात्र उद्योग ऊर्जामूलक उद्योग दर्ता भएको छ। यसैगरी, सेवामूलक २९०, उत्पादनमूलक २४५, पर्यटनमूलक १५८ उद्योग दर्ता छन्। गत आर्थिक वर्षमा जिल्लामा खनिजजन्य , निर्माणमूलक र विज्ञान तथा सूचना प्रविधिजन्य शीर्षकमा भने उद्योग दर्ता भएका छैनन् ।

गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको स्थिर पूँजी रु दुई अर्ब ९६ करोड ९६ लाख ३२ हजार, चालू पूँजी रु दुई अर्ब ६६ करोड २३ लाख ९३ हजार र कूल पूँजी रु पाँच अर्ब ६३ करोड २० लाख २५ हजार कार्यालयले जनाएको छ। ती उद्योगको वार्षिक उत्पादन क्षमता रु १६ अर्ब १३ करोड ३६ लाख बराबर छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?