बुटवलमा अनुगमनका क्रममा भेटियो सडेको मासु

अस्वस्थकर मासु बिक्री

रुपन्देही: बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।

पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार यहाँका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका पाइएका माछा, मासु तथा मासुजन्य पदार्थ नष्ट गरिएको अनुगमन समिति संयोजक आचार्यले जानकारी दिईन् ।

अनुगमनका क्रममा बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्ज रोडस्थित सद्दाम मासु पसल र कुरैसी मासु पसललगायतका पसलबाट ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछा, मासु नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताइन् ।

पसल सञ्चालकलाई स्वस्थकर मासु बिक्री गर्न तथा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ। अनुगमनका क्रममा बुटवलको नेपालगञ्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाइनस्थित भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।

नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा भुडकी चोकमा रहेका ताहिर मासु पसलमा अनुगमन गर्दा २५ किलो मासु सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासु बिक्रीका लागि राखिएको पाइएपछि उक्त मासु नष्ट गरिएको थियो। यस्तै, बुटवलको सब्जीमण्डीमा रहेका सटरमा दुर्गन्ध फैलाउने गरी मासु पसल सञ्चालन भएको पाइएपछि सुधार गर्न निर्देशन दिइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?