झापामा भारतबाट आएको हात्तीले धानबाली नष्ट

हात्तीले धानबाली नष्ट

झापा: पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जङ्गली हात्तीले धानखेतीमा क्षति पुर्याउन थालेको छ। विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका–४ का शङ्कर लुइँटेलले बताए ।

उनका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीयवासी सन्तोष न्यौपाने र भैरवबहादुर गौतमको धानखेत नष्ट गरेको हो। हात्तीले भर्खरै सारेको धानको रोपो सुँढले तानेर गुबो खाने गरेको छ। कहिले हुल बाँधेर र कहिले एक्लै आउने हात्तीले साँझदेखि बिहानसम्म बाली खाएर क्षति पुर्याउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

पीडित भैरवबहादुर गौतमले चार कठ्ठा खेतको रोपो एकै मेलोमा खाइदिएको बताए। उनले हात्ती खेद्ने संयन्त्र नहुँदा किसान मारमा परेको गुनासो गरे। झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीमा भारतबाट दैनिकजसो जङ्गली हात्ती गाउँमा पस्ने गरेको छ। सरकारले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाए पनि तारबार भत्किएका ठाउँबाट हात्ती छिर्ने गरेको छ ।

हात्ती र कोरोनाको आतङ्क एकैपटक आइलागेका कारण ज्यान जोगाउने कि बाली भन्ने समस्या उत्पन्न भएको अर्का पीडित सन्तोष न्यौपानेले बताए। कोरोना सङ्क्रमण नबढोस् भनेर नगरपालिकाले सिलबन्दी गरेको र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ। भारतबाट आउने हात्तीले स्थानीयवासीको घर भत्काइदिने र घरभित्रको अन्न खाइदिने पहिल्यैदेखिको समस्या हो। पाकेको बाली खाने गरे तापनि खेतको रोपो यसअघि खाएको थिएन । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?