जुम्लाको तिलामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने

स्याउ

खलङ्गा: जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने भएको छ। यहाँको अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई मध्यनजर गर्दै सो कार्यक्रम लागू गरिने भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।

स्याउ सुपरजोन परियोजना कार्यक्रमअन्र्तगत सिमी जोनकोरुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ जुम्लाका कार्यालय प्रमुख गङ्गा पोखरेलले बताइन्। कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार कार्यक्रम छनौट गर्ने निर्णय भएको उनको भनाइ छ ।

यसैगरी, पातारासी गाउँपालिकाको वडा नं १, २ र ३ तथा गुठिचौर गाउँपालिका– १ र २ मा पनि स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने भएको छ। स्याउ सुपरजोन परियोजनाअन्तर्गत यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भईरहेको थियो ।

कार्यालय प्रमुख पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिस गरिसकेको थियो। थोरै जनशक्तिले सुपरजोनमा काम गर्नु परिरहेको भन्दै उनले स्थानीय तह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताइन् ।

लामो समयदेखि जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय वृहत चक्लाबन्दी, बगैँचा घेरवार, सिँचाइ, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ। जुम्ला क्षेत्र (ख) मा कार्यक्रम सञ्चालन हुन सकेको थिएन। किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनुपर्ने माग राख्दै आइराखेका थिए। क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?