दोदामा बाढी : तीन दर्जन घर डुबानमा ,दुई दर्जन बढी किसानले खेतमा रोपेको उखुमा क्षति

बाढीपहिरो

कञ्चनपुर: लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।

आज बिहान २ः०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नु परेको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले बताए । उनका अनुसार बल्मी र डुङाका गरी ४० बढी घर डुबानमा परेका छन् । नदीको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाले भण्डारण गरेका अन्न भिजाइदिँदा क्षति भएको छ । केही घर भत्किने अवस्थामा छन् ।

“बाढीले पुर्याएको क्षतिबारे विवरण सङ्कलन गरिरहेका छौँ”, वडाध्यक्ष चौधरीले भने, “निकै क्षति गरेको छ, विवरण सङ्कलनपछि मात्रै क्षतिबारे जानकारी दिन सकिने छ ।” नदीमा बाढी आएको बेलैमा थाहा पाउँदा मानवीय क्षति भने नभएको उनले बताए । झण्डै १० बिघा बढीमा किसानले लगाएको उखुसमेत नदीको बाढीले क्षति गरेको छ । स्थानीय बासिन्दा झक्कुप्रसाद चौधरीले नदीको बाढीले उखु ढलाएपछि लाखौँ क्षति भएको बताए ।

“दुई दर्जन बढी किसानले खेतमा रोपेको उखु नदीको बाढीले ढलाइ दिएको छ”, उनले भने, “चुरे क्षेत्रमा व्यापक वर्षा हुँदा अप्रत्यासितरूपमा क्षति व्यहोरेका छौँ ।” नदीको बाढी खेतमा पस्दा किसानले रोपेको धानबालीसमेत बालुवाले पुरिदिएको छ । बल्मी र नन्दगाउँ जोड्ने दोदा नदीमाथि बन्दै गरेको पुलका निर्माण सामग्रीसमेत बाढीले बगाएर नोक्सानी पुर्याएको छ ।

अहिले नदीको पानीको सतह घट्दो छ । नदीको पानीको सतह घट्दै गर्दा जग्गा कटान तीव्र बनाएको स्थानीय तुलाराम चौधरीले बताए । पानी पर्ने क्रम अझै जारी रहेका कारण स्थानीयवासी त्रासमा छन् ।

यसैगरी दोदामा आएको बाढीकै कारण शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित झोलुङ्गे पुल बचाउन निर्माण गरिएको तटबन्ध भत्किएको छ । तटबन्ध भत्किँदा झोलुङ्गे पुल जोखिममा परेको वडाध्यक्ष बाले रानाले बताए । स्थानीय खोलामा आएको बाढीका कारण शुक्लाफाँटा–८ मा रहेको बैजनाथ सामुदायिक वनले घाटगद्दी गरेर राखेको काठ र दाउरा बगाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?