स्याङ्जाका किसानलाई ७९ लाख अनुदान वितरण

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप करिब रु. ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु. १५ का दरले रु ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख सुशील अर्यालले बताए ।

अर्यालका अनुसार नगरका विभिन्न वडामा आठ सय २१ पुरुष र तीन सय ५८ महिला गरी कूल एक हजार एक सय ७९ जना किसान लाभान्वित भएका छन् ।

“समूह, सहकारी तथा सङ्कलन केन्द्रहरुमा आबद्ध भएका किसानसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौँ,” शाखाप्रमुख अर्यालले भने, “उहाँहरुले संस्थामार्फत दूध बिक्री गर्नुहुन्छ र बिक्री भएको दूधका आधारमा प्रतिलिटर रु १५ का दरले किसानलाई सङ्कलन केन्द्रमार्फत एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।”

सङ्कलन केन्द्रमा दूध बिक्री गरेका एक हजार एक सय ७९ जना किसानलाई पाँच लाख ३३ हजार तीन सय २८ लिटर दूधको प्रतिलिटर रु १५ का दरले गत आवमा उक्त रकम अनुदानस्वरुप वितरण गरेको हो ।

दूध उत्पादक किसानलाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट उत्पादनमा प्रतिलिटिर रु १५ अनुदान दिन सुरु गरेको थियो । दूग्ध विकास संस्थानले निर्धारण गरेबमोजिमको मूल्यमा सङ्कलन केन्द्रमा दूध उपलब्ध गराउने किसानलाई मात्रै नगरपालिकाले अनुदान दिने गरेको हो ।

यहाँ उत्पादन भएको दूध सङ्कलन केन्द्रमार्फत बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा र केही गल्याङ तथा स्थानीय बजारमा खपत हुने गरेको शाखाप्रमुख अर्यालले बताए ।

नगरपालिकाले अनुदान, पशुधन बीमा तथा लागत साझेदारीका कार्यक्रमहरु अगाडि बढाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा पशु सुरक्षण बीमाका लागि रु २० लाख अनुदान दिएको थियो जसमा एक हजार दुई सय पाँच जना किसान लाभान्वित भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments