अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु

बल्छीमा परेको सर्पजस्तै माछाले टोक्दा गयो ज्यान

दाङ: दाङमा अढैया जातको माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका थिए ।

माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई लमही अस्पतालमा पुर्याए पनि चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पुर्याउदा मृत्यु भइसकेको बताए। घर्ती शनिबार दिउँसो श्रीमतीका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए ।

उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि बाहिर तानेका थिए। तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए ।

उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पुर्याएकी थिइन्। ‘अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरिक्षक पौडेलले भने, ‘ त्यस बीचमा घर्तीको मृत्यु भइसकेको थियो।’ प्रहरी निरिक्षक पौडेलले मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?