जहाँ माटो बिक्छ…

जहाँ माटो बिक्छ...

पाँचथर: फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँबायाँ माटाले भरिएका बोरा खात लगाएर राखिएका भेटिन्छन्। बोरासँगै बसेका मानिस कोही बिक्रीमा व्यस्त हुन्छन् त कोही सडकमाथिको पाखामा बोरामा माटो भरिरहेका हुन्छन् ।

यही बाटो भएर यहाँका उत्तरी क्षेत्र, ताप्लेजुङ र तेह्रथुमका पूर्वी भाग पुग्ने सवारी साधनमा माटो ‘लोड’ गरिन्छ। यात्रुहरुले पैसा तिर्छन्, कतिपय त सवारी चालकले नै माटाको रकम तिरेर खरिद गरी ग्राहकसम्म पुर्याइदिन्छन्। यसरी माटाको खरिद बिक्री हुन्छ र मानिसहरुले यही कामलाई पेसा बनाइरहेका छन्भन्दा आश्चार्य लाग्न सक्छ तर फिदिम–४ चारखम्बेदेखि तुम्देनचोकसम्मको सडकमा देखिने यो दृश्य यहाँका स्थानीयवासीको भने आम्दानी गर्ने माध्यम हो ।

चारखम्बे क्षेत्रमा मेची राजमार्गमाथि भित्तामा रहेको माटो गाढा रातो हुनाका साथै घर लिपपोत गर्दा आकर्षक देखिने हुनाले यसरी आकर्षक मूल्यमा बिक्री भइरहेको हो। पहाडी क्षेत्रका ग्रामीण बस्तीका घरहरु ढुङ्गा र माटाको पर्खाल लगाएर निर्माण गरिन्छन्। ढुङ्गा र माटाको पर्खालमा लिपपोतमा चुनढुङ्गा, कमेरो र रातो माटाको प्रयोग गरिन्छ। लिपपोत सहज बनाउन तथा घरको सुन्दरताका लागि भुइँतलाको पर्खालको भुइँतर्फको करिब एक तिहाइ भागमा रातो माटो पोत्ने चलन अहिले पनि गाउँघरमा उत्तिकै छ ।

कतिपय घरका पर्खालत पूरै रातामाटाले पोत्ने चलन पनि छ। यही प्रयोगका लागि यहाँ पाइने गाढा रातो माटो प्रख्यात हुँदै गएको हो। त्यसकारण यहाँका स्थानीयवासीले माटाको बिक्री वितरणलाई पेसाकै रुपमा अङ्गालेका छन्। यहाँकी मीरा गुरुङले रातो माटाको व्यापार थालेको १० वर्ष हुन लाग्यो। उनको परिवारले दसैँ अघि कामदार लगाएर माटो खन्ने तथा बिक्री गर्ने काम गर्दै आएको छ। “प्रायः दसैँमा घर सजावटको काम हुने हुनाले दसैँअघिको एक महिना अत्यधिक बिक्री हुन्छ”, उनले भने, “हामी यही बेला अलिअलि माटो बिक्री गरेर आम्दानी गर्छौं ।”

माटो बिक्रीले दसैँ मनाउन आर्थिक रुपले मद्दत गरेको उनको भनाइ छ। आफ्नै जमिनबाट रातो माटो निस्कने भएकाले राम्रो मेहनत र व्यापार गर्नसके आम्दानी पनि राम्रै हुने आधार रहेको अर्की जग्गाधनी रनमाया लावतीको भनाइ छ। यहाँ आफ्नो जमिन नहुनेले जमिन भाडामा लिएर रातो माटो निकालेर समेत बिक्री गर्दै आएका छन्। दसैँअघिको समयमा बाहेक अन्य समयमा भने रातो माटो छिटफुट रुपमा मात्रै बिक्री हुने गरेको छ ।

सडकसँगै घर हुनेले छिटफुट रुपमा बाह्रै महिना माटो बिक्री गरेर आम्दानी गर्ने गरेको स्थानीयवासी जयन्द्र खवास बताउँछन्। यहाँको माटो प्रतिबोरा रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ। प्रत्येक बोरामा २० देखि २५ किलोसम्म माटो उठाइन्छ। बाह्रै महिना नभए पनि वर्षमा केही समयका लागि भए पनि यहाँ माटो खन्ने, ढुङ्गा र माटो छुट्याउने बोरामा भर्ने जस्ता काममा स्थानीयवासीले रोजगारी पाएका छन्। फिदिम–४ तुम्देनचोकका २० वर्षीय दीप लावती शुक्रबार धमाधम माटाका बोरा सडकका भित्तामा मिलाएर राख्दै थिए ।

“दसैँअघि राम्रो बिक्री हुन्छ, धेरै लैजानेलाई अलि सस्तोमा पनि दिन्छौँ”, उनले भने, “बर्खा सकिएपछि माटो खन्न, बोरामा भर्न र मिलाएर सडकको छेउ भित्तामा राख्न थाल्छौँ ।” यहाँको माटो गाढा रातो हुनाले गाउँगाउँमा प्रख्यात भइसकेको छ। यद्यपि गत वर्ष लकडाउन र कोभिड–१९ को महामारीका कारण राजमार्गमा यात्रुको चाप नहुँदा माटो अघिल्ला वर्षमा जसरी बिक्री नभएको रातो माटोको बिक्री गर्दै आउनुभएका कृष्ण खवासको भनाइ छ ।

“पहिले राम्रो बिक्री हुन्थ्यो र जग्गाधनीलाई हामीले राम्रो पैसा दिन सक्थ्यौँ, अहिले बिक्री कम छ”, खवासले भने। यस्तै, माटो भर्नका लागि बजारमा बोरा नपाइने गरेको र बोराको मूल्य बढ्ने तथा माटाको मूल्य घटाउनुपर्ने हुनाले धेरै फाइदा भने हुन छाडेको माटाको बिक्रीमा संलग्नहरुको भनाइ छ। माटो बिक्री बढेपछि यहाँ दैनिक १५ देखि २५ जनासम्म स्थानीय माटो खन्ने, बोरामा हाल्ने र बिक्री गर्ने काममा खटिन्छन् ।

यहाँका भित्तामा धेरै ढुङ्गा नरहेको र सजिलै माटो निकाल्न सकिने भएकाले बिक्रेतालाई सहज भएको छ। गाउँगाउँसम्म सवारीका साधन पुगेपछि टाढा पुगेर रातो माटो खोज्नुभन्दा तयार अवस्थामा रहेको माटो खरिद गर्न धेरैले रुचाउनाले माटाको बिक्री बढेको हो। यहाँको माटाले लिपपोत गर्दा घर, आँगन आकर्षक देखिने हुनाले वर्षौंदेखि बिक्री हुँदै आएको माटाको बिक्रीमा संलग्न रनमाया लावती बताउँछिन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?