दूधको कारोबारले आत्मनिर्भर

दूधमा अनुदान

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न छन् । उनी बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन् । दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ ।

गर्मी मौसममा ३०० र चिसोमा २६० लिटर दूध सङ्कलन हुने गरेको छ । सङ्कलित दूधका क्यान मोटरसाइकलमा राखेर झलारी बजारबाट महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । दूध बिक्री गरेर मासिकरूपमा बोहराले रु ३० हजार आम्दानी हात पार्ने गरेको बताए ।

उनी सङ्कलित दूध ११ बजेसम्म बजार लगेर बिक्री गरी घर फिर्ता हुने गरेका छन् । दिउँसोको बाँकी समय घरमै खोलिएको किराना पसलमा उनले बिताउने गरेका छन् । गाईको दूध रु ४० र भैँसीको दूध रु ४५ प्रतिलिटरमा पशुपालकबाट खरिद गरी बजारमा रु ५० प्रतिलिटरका दरले बिक्री गर्ने गरेका छन्।

दूध बिक्रीबाट आएको पैसाले तीन कठ्ठा जग्गा, पाँचकोठे पक्की घर निर्माणसँगै सहकारीको सेयरमा बोहराले लगानी गरेका छन् । उनले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन्। दूधको कारोबारमा लागेका बोहरा यसमै भविष्यका सपना बुन्नमा लागेका छन्। आफ्नै दुग्ध उद्योग खोलेर आम्दानीलाई बढाउने उनको योजना छ ।

उनले भने, “घर–घरमा पुगेर दूध बिक्री गरे आम्दानी हुन्छ भन्ने कुरा सम्झाउन सफल भएँ, दैनिक दूध बिक्री गरेर पैसा हातमा पर्न थालेपछि स्थानीय बासिन्दाले सहजरूपमा दूध बिक्री गर्न थाले, त्यसपछि दूध सङ्कलन गरी बजारमा लगेर बिक्री गर्न थालेपछि पशुपालक र आफूले आम्दानी लिन थालेका छौँ ।”

विगतमा घरकै लागि दूधको जोहो मिलाउने स्थानीय बासिन्दाले गतिलो आम्दानी हुन थालेपछि बढी दूध दिने जर्सी गाई र उन्नत जातका भैँसी पाल्न थालेको उनले बताए । “पहिला दूध बिक्री गर्ने सीमित थिए, हाल सबैका घर–घरमा दुधालु गाई, भैँसीपालन गरेका छन्, दुधालु गाई, भैँसी पाल्नेमध्येका केही परिवारले दूध बिक्री गरी मासिकरूपमा रु २० देखि रु ३५ हजारसम्म आम्दानी लिन थालेका छन्”, उनले भने ।

शुक्लाफाँटा नगरपालिका क्षेत्रमा १० जनाले घरघरमा पुगेर उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री गर्दै आएका छन् । दैनिक नगरपालिका क्षेत्रबाट तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको छ । नगरपालिकामा भने झण्डै आठ हजार लिटर दूध उत्पादन हुने गरेको अनुमान छ । बजार क्षेत्रमा सञ्चालित दुग्ध उद्योगमा समेत थोरै मात्रामा दूधको खपत हुने गरेको छ । दही बनाउन र चिया बनाउनमा दूध बढी खपत हुने गरेको छ । केही दुग्ध उद्योगले पनिर र खोया बनाउने कार्यमा समेत दूधको खपत गर्दै आएका छन् ।

दूध बिक्रीबाट गतिलो आम्दानी हुने ठानेर धेरैले बाह्य क्षेत्रबाट उन्नत जातका गाई र भैँसी खरिद गरी व्यावसायिकरूपमा पालन गरेका छन् । उत्पादित दूध बजारमा बिक्री नहुने समस्या देखिन थालेपछि व्यावसायिक गाई, भैँसीपालनमा लागेकाले घाटा व्यहोर्नुपर्ने अवस्था आएको छ । बजारको व्यवस्था मिलाइदिनका लागि दूध उत्पादनमा लागेकाले स्थानीय तहलाई समेत गुहार्न थालेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?