यस्ता छन काँक्रो खानुका फाइदा
‘रत्नमा हीरा, तरकारीमा खिरा’ भन्ने त उखानै छ । खिरा अर्थात् काँक्रो । काँक्रो यस्तो फल हो, जुन बजारमा वर्षैभरि पाइन्छ । यो नेपाली जनजीवनमा भिजेको खान्की पनि हो ।
काँक्रो चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जा नै बेग्लै । काँक्रोको प्रयोग अचार र सलादमा बढी हुन्छ । काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ ।
खानामा स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् ।
नियमित रुपमा काँक्रो खाने हो भने मुहार चाउरी पर्दैन । यसले अनुहारलाई मोइस्चराइज गराउनुका साथै छालालाई डढ्नबाट बचाउँछ । भिटामिन, मिनरल्सलगायत पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं । जानौं, काँक्रोका फाइदाः
–काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।
– सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।
– काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।
– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।
– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।
– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।
– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।
– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।
– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।
– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।
– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।
– यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।
– यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।
– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ।
