व्यावसायिक नर्सरी खेतीबाट मनग्य आम्दानी

नर्सरी खेती

बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन्। भारतबाट फर्केपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो ।

पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको भनाइ छ। नर्सरी खेतीबाटै वार्षिक एक लाख रुपैया बचत हुने उनको भनाइ छ। अर्काको भारी बोक्नुपर्ने र गाली खाएर बस्नुपर्ने कुरा सहन नसकेर स्वदेशमै फर्किएका रावत हाल सफल नर्सरी कृषकको परिचयले चिनिन्छन् ।

पूर्वी उत्तरी क्षेत्रमा पर्ने कोल्टी क्षेत्रमा आवश्यक बिरुवा आफ्नै नर्सरीबाट जाने गरेको उनको भनाइ छ। स्याउ, ओखर, कागती, सुन्तला, मौसम, किवी, आरु आदिका बिरुवा रावतको नर्सरीमा पाइन्छ। केवल दुई कक्षा पढेका रावत आफैँ हिसाबकिताब गर्ने र बिरुवामा देखिने अधिकांश समस्याबारे जानकारी राख्छन्। छोराछोरीको पढाइलेखाइसहित परिवारको खर्च नर्सरीबाटै रावतले धानेका छन् ।

कमल फलफूल नर्सरी चलाएका रावत नमूना कृषकका रुपमा चिनिनुभएको पिसविनका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताए। पिसविनले आर्थिक अनुदानसहित ज्ञान, सीप, प्रविधि र औजार उपकरणसमेत सहयोग गर्ने गरेको परियोजनाका प्रमुख गोविन्द थापाको भनाइ छ। नर्सरी खेतीसँगै मौरीपालन पनि उनले गरेका छन् ।

धान, गहुँ लगाएर मिहिनेतको फल आए पनि गुजारा मात्र हुने भएकाले पेसालाई व्यावसायिक र आधुनिक ज्ञान, सीप तथा प्रविधिसँग जोड्नुपर्नेमा रावतको जोड छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?