जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै

जडिबुटी पकेट क्षेत्र घोषणा

गलेश्वर: म्याग्दीमा पछिल्लो समय जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। किसानले व्यावसायिकरुपमा जडीबुटी खेती थालेका हुन्। जिल्लाका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तार गर्ने क्रम बढ्दै गएको छ ।

धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले सामूहिक रुपमा जडीबुटी खेती थालेको छ। उक्त समूहले गत वर्षदेखि नै जडीबुटी खेतीको सुरुआत गरेको थियो। समूहले यस वर्ष करिब दुई रोपनी जग्गामा उतिस खेती विस्तार गरेको छ। सो समूहमा आवद्ध २५ किसानले उतिसको बिरुवा रोपण गरेको अध्यक्ष गोर्खा छन्त्यालले जानकारी दिए ।

“बजारमा उतिसको माग अत्यधिक छ, त्यसैले यसको व्यावसायिक रुपमा खेती गरिएको हो”, उनले भने। समूहले स्थानीयस्तरमा बिरुवा उत्पादन गरी वृक्ष रोपण गरेको हो। स्थानीयवासीले उतिसलाई पेटको जुका मार्न र शक्तिवद्र्धक औषधिका रुपमा प्रयोग गर्दैआएका छन्। समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा रहेको गुर्जा जडीबुटीको सम्भावनायुक्त ठाउँ हो ।

सो ठाउँमा हिमाली किसान समूहले टिउथिबा सामुदायिक बनको दुई हेक्टरभन्दा बढी पाखो जग्गा भाडामा लिई व्यावसायिक जडीबुटीखेती थालेको छन्त्याल बताउँछन्। जिल्लामा पछिल्लो समय गुर्जो, अस्वगन्ध, दालचिनीलगायत जडीबुटीको खेती गर्न थालिएको छ। धवलागिरिको मुना, मुदी र गुर्जाका जङ्गलमा प्रशस्त जडीबुटी पाइन्छ ।

स्थानीयवासीले यसको व्यावसायीक खेती गर्न थालेका वडा नम्बर ३ का वडाध्यक्ष पुर्म पुन बताउँछन्। बेनी, पोखरा, काठमाडौँलगायत ठाउँबाट जडिबुटीको माग हुन थालेको उनले बताए। पछिल्लो समय जडीबुटीलाई औषधिका रुपमा प्रयोग गर्ने क्रम बढ्दै गएको आयुर्वेदिक औषधालयका प्रमुख प्रेमप्रसाद गौतमले बताए ।

“जडीबुटीको प्रयोग र माग बढ्न थालेको छ”, उनले भने। सर्वसाधारणले विस्तारै जडीबुटीको महत्व बुझ्दै गएकाले यसतर्फ आकर्षण बढेको उनको भनाइ छ। जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै त्यसको सामना गर्ने शक्तिसमेत बढाउँछ। महत्व नबुझ्दा बहुमूल्य जडीबुटी जङ्गलमा त्यत्तिकै खेर गइरहेको गौतमले बताए ।

जडीबुटीको औषधि बनाइ उपचार गर्नेबारे बेद, उपनिषद् र धार्मिक ग्रन्थमा समेत व्याख्या गरेको पाइन्छ। आयुर्वेदमा आचार्य गर्नुभएका बेनी नगरपालिका–२ ज्यामरुककोटका जीवन शर्मा आचार्य अष्टगन्ध, गुर्जो र तुलसीपत्र औषधिका रुपमा नियमित सेवन गरे शरीरमा अक्सिजनको कमी हुन नपाउने तथा रोग लागेमा प्रतिरोधात्मक क्षमता बढ्ने बताउँछन् ।

यसैगरी, कोरोना सङ्क्रमण भएका व्यक्तिलाई दालचिनी, अस्वगन्धा, तुलसी, मेवा र अम्बा (बेलाउती) को पत्र मिश्रित चूर्ण वा रस सेवन गराए प्रतिरोधात्मक क्षमता वृद्धि हुने चिकित्सक बताउँछन्। बेनी नगरपालिका–२ का ८५ वर्षीय वेदप्रसाद उपाध्याय नियमितरुपमा तुलसी पत्र र गुर्जो सेवन गर्दै आएको बताउँछन् ।

उपाध्याय मात्र होइनन् अर्मनका देवी सापकोटा र अर्थुङ्गेका नीलकण्ठ आचार्य पनि नियमितरुपमा तुलसीपत्र, गौमुत्र, गुर्जो र अन्य जडीबुटी औषधिका रुपमा प्रयोग गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?