धान हात्तीले नोक्सानी गर्न थालेपछि जङ्गली हात्ती नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन
कञ्चनपुर : जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षति गर्न थालेपछि नियन्त्रण गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । नगरप्रमुख ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
हात्ती नियन्त्रणका लागि सुरक्षा निकायको २५ जनाको संयुक्त टोली परिचालन गरिएको छ । हात्तीबाट नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ११ र १२ प्रभावित रहेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती भगाउनका लागि आगो बाल्न दाउरा बाल्ने व्यवस्थासँगै स्थानीय बासिन्दालाई सजग बनाउने कार्य र विद्युतीय बारलाई व्यवस्थित पार्ने कार्य भइरहेको प्रमुख संरक्षण अधिकृत पुर्जामगरले बताउनुभयो । हात्तीको बथानलाई निकुञ्ज क्षेत्रतर्फ फर्काउने कार्य भइरहेको उहाँको भनाइ रहेको छ ।
लगातारको वर्षाका कारण धानबाली भित्र्याउन नपाएका किसानको धान हात्तीले नोक्सानी गर्न थालेपछि यस क्षेत्रका किसान थप मार्कामा परेका छन् । जङ्गली हात्तीले मानवीय क्षति गर्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसितसमेत भएका छन । बस्ती नजिकैका सामुदायिक वनमा जङ्गली हात्ती दिउँसै ओहरदोहर गर्दै आएका छन् । स्थानीयवासीले हात्तीकै डरले मेलापात गर्न छाडेका छन् ।
प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । बर्सातका बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ । निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पु¥याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो(करिडोर) मासिदा हात्तीले अधिक नोक्सनी पु¥याउने गरेको वन्यजन्तु विज्ञको भनाइ रहेको छ ।
“हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन”, विज्ञहरु भन्छन्, “प्रजननका बेला मात चढेको मत्त(भाले) हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ ।” छावा माथि आक्रमण हुनसक्ने ठानेमा समेत जोगाउनका लागि हात्ती हिंसक हुने गर्दछ । – रासस
