वर्षा र बाढीले कञ्चनपुरमा डेढ सय बिगाहको केरा खेती नष्ट

कञ्चनपुर : मनसुन सकिएपछि अविरल रुपमा परेको वर्षाले तटीय क्षेत्रका स्थानीयले लगाएको केरा खेतीमा ठुलो नोक्सानी पुर्‍याएको छ । वर्षा र बाढीले कञ्चनपुरमा डेढ सय बिगाहको केरा खेती नष्ट भएको छ ।

अविरल वर्षा र बाढीले फलेको केरा खेतमै डुबान र ढलेर नष्ट भएसँगै व्यावसायिक रुपमा केरा खेती गर्दै आएका केरा किसान मर्कामा परेका छन् । व्यावसायिक रुपमा केरा खेती गरिरहेका किसानको व्यवसाय नै चौपट भएको छ ।

भीमदत्त नगरपालिका १० जिमुवाका केरा किसान कृष्णदत्त भट्टले दुई बिगाहमा लगाएको केरा खेती वर्षाले नष्ट गरिदिएको बताए । ‘मैले दुई बिगाह जमिनमा तीन हजार बोट लगाएका थिए, ‘उनले भने, ‘६ सय घरी केरा बेचे, दुई सय घरी केरा नष्ट भयो’,उनले भने । लालझाडी गाउँपालिका ३ नन्दगाउँका बहाली रानाले १५ कट्टामा केरा खेती गरेका थिए । ‘केरा बेच्ने समयमा पानी आएर नष्ट भयो, ‘उनले भने, ‘बाँकी बचेको केरा बेच्नका लागि समेत साहु पाइएको छैन ।’

पुनर्वासका केरा किसान जनक धामीले वर्षा र बाढीले आफ्नो ५ विगाहको केरामध्ये ६० प्रतिशत नष्ट भएको बताए । ‘जमिनमा पुरै पानी भरिएले गिलो हुन्छ, ‘उनले भने, ‘फलेको केरामा भारी लोडले थाम्न नसक्ने अवस्थामा फलेको केरा खेतमै ढल्यो, पानीमा परेर कुहियो ।’ विपद्ले केरा किसानले ठुलो नोक्सानी बेहोर्नु परेको बताउँदै उनले केरा किसानका लागि विशेष राहत, क्षतिपूर्तिको व्यवस्था नगरे कयौँ किसान केरा खेतीबाट पलायन हुनुपर्ने अवस्था सृजना भएको बताए ।

‘व्यावसायिक रुपमा केरा खेती गरिरहेका किसानलाई यस सिजनमा ठुलो घाटा भएको छ, ‘उनले भने, ‘बैङ्कको ब्याज र लगानी उठाउन समेत समस्या भएको छ, यसमा सरकारी निकायले ध्यान दिनुपर्छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?