धर्नामा किसान: झुक्याएर नफल्ने धानको बीउ बेच्ने बिक्रेतालाई कारबाही गर्न माग

काठमाडौं :उपत्यकाका तीन जिल्लामा ५ सय रोपनी जग्गामा लगाइएको धानमा बाला नलागेपछि पीडित किसानले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

प्रदर्शनमा सहभागी किसानहरूका अनुसार उपत्यकाका तीनवटै जिल्लामा लगाइएको धानमा समस्या देखिएको छ । धान धेरै फल्ने भन्दै किसानले डीवाई २८ चाइनिज धान लगाएका थिए । रोपेको धानमा बाला नलागेपछि बीउ बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने मागसहित किसान विरोधमा उत्रेका छन् ।

धानमा बाला नलाग्ने समस्याबाट भक्तपुरको तेलकोटका किसान सबैभन्दा धेरै प्रभावित भएका छन् । काठमाडौंको मातातीर्थ, दहचोकको र ललितपुरको चापागाउँ क्षेत्रका किसानले लगाएको धानमा पनि दाना लागेको छैन ।

नफलेको धानको मूठोसहित प्रदर्शनमा उत्रिएका किसानले झुक्याएर नफल्ने धानको बीउ बेच्ने बिक्रेतालाई कारबाही गर्न माग गरेका छन् । किसानलाई उचित क्षतिपूर्ति दिन, साना किसानको ऋण मिनाहा गर्न पनि उनीहरुले सरकारसँग आग्रह गरेका छन् । कृषि सूचना प्रणाली प्रभावकारी बनाउन र गुणस्तरीय मल बीउ उपलब्धताका लागि पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

धान नफलेको बारे अनुसन्धान गरिरहेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् र बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको प्रारम्भिक अनुसन्धानमा भने किसानले गलत धानको बीउ रोजेको पाइएको छ । समुद्री सतहबाट ७ सय मिटरसम्म मात्रै उपयुक्त भनी सिफारिस गरिएको डीवाई २८ चाइनिज धान उपत्यकामा लगाइएको भेटिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments