गरिबको खानाको परिकार भनिने ढिँडो, सिस्नो अहिले सहरबजारको रोजाइँमा

ढिँडो र सिस्नु

म्याग्दी: बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन् । कुनै समय गाउँघरका गरिबको खानाको परिकार भनिने ढिँडो, सिस्नोलगायत अहिले सहरबजारका धनीमानीको रोजाइँमा पर्न थालेको छ ।

आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलासी जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि ग्रामीण क्षेत्रमा विषादीको प्रयोगबिना प्राङ्गारिक तरिकाले उत्पादन गरिएका तरकारी र खाद्य सामग्रीप्रति आकर्षण बढ्न थालेको छ ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्यान्न, गेडागुडी र तरकारीको माग बढ्न थालेपछि सदरमुकाम बेनीमा महिला उद्यमीले ती सामग्री मात्र पाइने पसल खोलेका छन् । उत्पादनले बजार र मूल्य पाउन थालेपछि गाउँका किसान उत्साहित भएका छन् ।

गाउँमा उत्पादन भएको सिमी, साग, चामल, दाल, कोदोको पिठो, भुटेको मकै, मह, घ्यू, अचार, टिमुर, बदाम, सिस्नोको पाउडर, च्याउ, टुसा, मकैको आटो लगायतको माग बढ्न थालेपछि पसल सञ्चालन गरेको न्युरोडस्थित प्रकृति लोकल एण्ड अर्गानिक स्टोर्सकी सञ्चालक अम्बिका ढुङ्गानाले बताइन् ।

गाउँमा उत्पादन भएका खाद्यान्न, दाल र तरकारी एकै ठाउँमा पाइने पसल सञ्चालन भएपछि ती सामग्री खोज्न गाउँ जानुपर्ने बजारवासीको झञ्जट हटेको छ । स्वस्थ्यकर र पोषिलो हुने भएकाले बजारमा बसोबास गर्नेहरु गाउँको उत्पादनतर्फ आकर्षित भएका म्याग्दी लोकल मार्टकी सञ्चालक पुष्पा पुनले बताइन्।

ग्रामीण क्षेत्रका किसानको घरदैलोमै पुगेर उनीहरुले उत्पादन गरेका सामग्री खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको पुनले बताइन्। सिमी, च्याउ, मह, घ्यु, ढकायो, गुन्द्रुक, भाँगो, चामलको, पिठो र बदाम बढी बिक्री हुने गरेको पुनले जानकारी दिइन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारस्थित खयरभारानी सिस्नो पाउडर उद्यमी समूहका संयोजक चोपनारायण तिलीजा पुनले जङ्गलमा खेर जाने निगालोको टुसा, च्याउ, ढकायो र सिस्नो आम्दानीको स्रोत बनेको बताइन् । विसं २०७३ देखि सिस्नोको पाउडर उत्पादन सुरु गरेको उक्त समूहले पछिल्लो समय ढकायो, च्याउ र टुसाको पनि उद्यम सुरु गरेको छ । जिल्ला युवा समितिको कार्यालयबाट बिना धितो र बिना ब्याज रु पाँच लाख ऋण लिएर आठ युवाले सिस्नो पाउडर उद्यम सञ्चालन गरेका छन् ।

घरायसी र खेतबारीको कामबाट बचेको समय उद्यममालगाएका उनीहरुले एक वर्षमा रु एक लाख ५० हजार आम्दानी गरेका छन् । वन जङ्गलमा खेर गइरहेका च्याउ, टुसा, ढकायो, सिस्नोलाई प्रशोधन गर्न प्रदेश सरकारले समेत सहयोग गर्दै आएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?