आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

आलु उत्पादन

बझाङ : कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो ।

यहाँ अन्य नगदे बालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको र यसमा आलु जोनको पनि सहकार्य रहेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गहुँ खेतीभन्दा आलु लगाउन आदेश दिएको छ, गहुँभन्दा आलु बढी उब्जनी हुन्छ, नाफा पनि सोहीअनुसार हुन्छ, आलुबाट कृषकले मनग्य आम्दानी गर्न सक्छन्, त्यसैले अब बझाङलाई आलु जोनका रुपमा विकास गर्न हामी सबैले हातेमालो गर्न आवश्यक छ ।”

प्रमुख विष्टका अनुसार कृषि ज्ञान केन्द्रले बीउ वितरणदेखि बजारीकरण, प्याकेजिङ, निःशुल्क ढुवानी गर्नेसम्म सबै काम गर्ने बताउनुभयो । यसअघि पनि यस्ता विभिन्न कार्यक्रम आए पनि खासै काम हुन नसकेको र आगामी दिनमा माटो सुहाउँदो बीउको प्रयोग गरी जमिनको दायरा पनि बढाउँदै लगिने बताइएको छ ।

आलु खेतीबाट आफूहरू सन्तुष्ट भएको कृषकको भनाइ छ । जयपथ्वी नगरपालिका–११ साइला बगरका सुर्जन खड्काले यसअघि परिवारका लागि मात्रै खानका लागि आलु लगाउने भए पनि अहिले भने खेती नै सुरु गरेको बताउनुभयो । साथै उहाँले गहुँभन्दा पनि आलु खेतीले मनग्य आम्दानी हुने आशामा आलु खेती लगाएको जानकारी दिनुभयो । परियोजनाले सुनिगाडबाट पानी तान्ने पम्पसेट दिएपछि आलु खेती सिँचाइ गर्न निकै सहज भएको उहाँहरूको भनाइ छ । अहिले कृषकले आलु खेतीसम्बन्धी प्रशिक्षण पनि लिँदै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?