लान्द्रुकमा ‘हनी हन्टिङ’ महोत्सव हुँदै

कास्की : कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा ‘ हनी हन्टिङ’ महोत्सव हुने भएको छ ।

आउँदो मङ्सिर २१ देखि २३ गतेसम्म कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुकमा ‘हनी हन्टिङ महोत्सव २०७८’ हुने भएको हो ।

भीर मौरीको मह जेठ र मङ्सिर गरेर वर्षमा दुई पटक निकालिन्छ । दोस्रो सिजन मङ्सिरमा महोत्सव नै गरेर लान्द्रुकको मोदी खोला किनारको कोटेसाङ भीरका गोलाबाट मह निकालिँदै छ । कोभिड १९ ले पर्यटक कम हुन थालेपछि पर्यटकलाई आकर्षित गर्न महोत्सव सञ्चालन गर्न लागिएको महोत्सवका प्रचारप्रसार संयोजक कमल गुरुङले बताउनुभयो ।

‘लान्द्रुकवासीका लागि यो सामान्य भए पनि धेरैलाई नौलो विषय हुनसक्छ । हाम्रा लागि मह काढेको हेर्नु नौलो होइन । तर, धेरैलाई नौलो हो । कोभिड १९ ले गाउँमा पर्यटकको चहलपहल घटेको छ । पर्यटन पनि राम्रो हुन्छ भन्ने सोचेर हामी पर्यटन व्यवसायीले यो फेस्टिभल गर्न लागेका हौँ’ गुरुङको भनाइ छ ।

अहिले गाउँमा रहेका ९ जना भिरौटेको टोलीले भिरमा चढेर मह काढ्ने छन् । भिरमा चढेर मह काढ्ने काम निकै जोखिमयुक्त हुने हुँदा अहिले गाउँलेहरूले नै मह काढ्ने गुरुङले बताउनुभयो ।

महोत्सव सञ्चालनका लागि गाउँपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ । लान्द्रुकमा १३ वटा होटेल र आठ वटा होमस्टे सञ्चालित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?