खाद्य संस्थान भन्छः ‘धान किन्छौँ तर स्तरीय मात्रै’
महेन्द्रनगर:
गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति भएको थियो। यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिए ।
“हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो”, उनले भने, “किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ।” उनले प्रतिक्विन्टल रु दुई हजार ७५२ धान खरिद गरिरहेको जानकारी दिए। यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गरे। यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताए ।
कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिए। “उत्पादन भएकामध्ये ६९ हजार २७३ मेट्रिकटन क्षति भयो”, उनले भने, “कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो।” धानखेती समेट्ने बेला आएको वर्षात्ले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो । रासस
