किसानबाट उपभोक्तासम्म अण्डा पुर्याउँदै दाउन्ने समूह

काठमाडौं: एक व्यावसायिक समूहले किसानले उत्पादन गरेको अण्डा सोझै उपभोक्तासम्म पुर्याउने सञ्जाल निर्माण गरेको छ। चितवनमा रहेको किसान दाना उद्योग प्रालिले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधैँ पुर्याउन सुरु गरेको हो ।

समूहले आफ्नै बिक्री डिपोमार्फत बिक्री गर्ने भएपछि विभिन्न तहमा दिनुपर्ने कमिशन बचत हुने र उपभोक्ताले भविष्यमा सस्तोमा ताजा अण्डा उपभोग गर्न पाउने भएका छन्। सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा झण्डै तीन लाख लेयर्स कुखुरा पालेको छ। किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक एक लाख ३६ हजार वटाभन्दा बढी अण्डा उत्पादन हुन्छ ।

त्यति नै मात्रामा किसानबाट सङ्कलन हुने गरेको छ। यो सङ्ख्या बढ्ने उद्योगले जनाएको छ। हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ। किसान दाना उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार फार्मबाट किराना पसलसम्म पुर्याउनका लागि बिक्री डिपो विस्तार गरिएको हो। हालसम्म १० डिपो सञ्चालन ल्याइएको छ। उनले भने, “देशका प्रमुख शहरमा डिपो बिस्तार गर्दैछौं ।”

कम्तीमा ३० डिपो पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ। पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानिय डिलरमार्फत अण्डा पुर्याइँदै आएको छ। पोख्रेलले सोझै घरदैलोसम्म अण्डा पुर्याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताए ।

हाल उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरीमा बिक्री केन्द्र खोलेको छ। ती केन्द्रमार्फत घरदैलोमा अण्डा पुर्याउने गरिन्छ। बाह्र साना भ्यानले अण्डा ओसार्ने गरेको उनको भनाइ छ। उनले भने, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दरमा उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य हो ।”

नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । उद्योगका अध्यक्ष रघुनाथ भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्तासम्म अण्डा पुग्दै आएकामा अब सोझै उपभोक्तासम्म पुर्याउने उद्देश्यका साथ काम थालिएको बताए। उनका अनुसार घर नजिकैको पसलसम्म उद्योगले अण्डा पुर्याउने छ ।

यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ। नेपालमा नै सबैभन्दा बढी कुखुरा पाल्ने लक्ष्य लिएको यस समूहले हाल करिब तीन लाख कुखुरा पालेका आठ लाख पुर्याउने तयारी गरेको निर्देशक द्रोण लामिछानेले जानकारी दिए। उद्योगले ‘ह्याप्पी एग’ नामबाट ‘ब्राण्डिङ’ गरी आकर्षक प्याकिङ्मा बिक्री गर्दै आएको छ ।

यसैबीच, काठमाडौँको वनस्थली र नैकापमा आजदेखि डिपो शुरु गरिएको छ। नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले वनस्थली र नैकाप डिपोको उद्घाटन गरे। सो अवसरमा उनको घरदैलोमा ताजा सस्तोमा अण्डा पुर्याउने प्रयास प्रशंसनीय रहेको बताए। कार्यक्रममा अण्डा उत्पादक सङ्घका महासचिव प्रविण केसी, किसान दाना उद्योग प्रालिका अध्यक्ष भट्ट, कार्यकारी निर्देशक पोखरेल, निर्देशक लामिछानेलगायतको उपस्थिति थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments