कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवाहरूलाई दक्षिण कोरिया पठाउने
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा आधुनिक र वैज्ञानिक प्रविधि भित्र्याउन स्थानीय युवाहरूलाई दक्षिण कोरिया पठाउने भएको छ ।
नगरपालिकाले मौसमी कृषि श्रमिकहरूलाई ग्याङ्गवन प्रदेश, दक्षिण कोरिया पठाउन त्यहाँको इन्टरनेश्नल अर्वन ट्रेनिङ सेन्टर ग्याङ्गवन प्रदेशसँग सम्झौता गरेको गरेको हो ।
कार्यपालिकाबाट अनुमोदन गरी सम्झौता पत्र मङ्गलवार इन्टरनेशनल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशलाई पठाइएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभएको छ ।
उहाँका अनुसार आधुनिक तथा वैज्ञानिक कृषि प्रणाली विकासमा फड्को मारेको दक्षिण कोरियाको सिप र प्रविधिलाई स्वदेश भित्र्याउन स्थानीय युवाहरूलाई त्यहाँ पठाउन लागिएको हो ।
‘कृषि श्रमलाई उत्पादनसँग, उत्पादनलाई रोजगारीसँग जोड्दै गरिबी न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि भीमदत्त नगरपालिका कृषिमा वैज्ञानिक र आधुनिक प्रणाली भित्र्याउन चाहन्छ’ नगर प्रमुख विष्टले भन्नुभयो, ‘केही समयका लागि युवाहरू विदेश जानुहुन्छ । त्यहाँको सिप र प्रविधि सिक्नुहुन्छ र फर्केर स्वदेशमै त्यसको उपयोग गर्नुहुन्छ।’ त्यसले समग्र देशको अर्थतन्त्रलाई पनि बलियो बनाउने नगरप्रमुख विष्टले बताउनुभएको छ ।
कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै दिगो आर्थिक विकास गर्नुका साथै शिक्षित बेरोजगारी हटाउने उद्देश्यले नगरपालिकाले कोरिया सरकारसँग यो सम्झौताको गरेको नगर प्रमुख विष्टको भनाई छ ।
भीमदत्त नगरपालिकामा कम्तीमा ३ वर्ष भन्दा बढी स्थायी बसोबास गरेका ३० देखि ४५ वर्ष उमेर समूहका र अङ्ग्रेजी वा कोरियन भाषाको ज्ञान भएका युवाहरूलाई नगरपालिकाले छनोट गरी कोरिया सरकारलाई मौसमी कृषि कामदारका लागि सिफारिस गर्नेछ ।
उक्त सम्झौता अनुसार करार अवधि ३ देखि ५ महिना हुने (रोजगारदाताको इच्छा अनुसार बढी पनि हुनसक्ने) र न्यूनतम मासिक तलब १ लाख ८० हजार रहेको बताइएको छ । मौसमी कामदार कार्यक्रम इन्टरनेश्नल अर्वन ट्रेनिङ सेन्टर, ग्याङ्गवन प्रदेशको अन्तिम पत्र आएपछि सुरु हुने नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरपालिकाले अर्वन ट्रेनिङ सेन्टरले माग गरे अनुसार सीमित सङ्ख्यामा युवाहरू छनौट गरी सिफारिस गर्नेछ । श्रम मन्त्रालयको अनुमतिका लागि नगरपालिकाले तयारी गरिरहेको जनाएको छ ।
