समाज परिवर्तन भयो भनियो तर दलित भएकै कारण जसको दुग्धजन्य पदार्थ बजारमा बिक्दैन

किसानलाई भैँसी

कञ्चनपुर: नाम सोध्दा सहजै गौरसिंह भन्नुभएका उहाँ त्यसपछि एकछिन अड्कनुभयो, अनि अलि दबेको स्वरमा भन्नुभयो, ‘सार्की हो ।’ शुक्लाफाँटा नगरपालिका– ४ आसापुरका सार्कीले भैँसीको ध्यू बिक्रीका लागि बजार घुम्दै हिँडेपनि बिक्री गर्न सक्नुभएन । त्यसको कारण एउटै हो, उहाँको जात । “म सार्की हुँ भन्ने थाहा पाएका कतिपय मानिसहरु आउँदै–आउँदैनन्, कति आएपनि खरिद नगरी फर्कन्छन्”, थर लुकाउनुको व्यथाबारे गौरसिंहले सुनाउनुभयो, “त्यसैले सकेसम्म मेरो जात भन्दिनँ । व्यापार भएन भने मैले कसरी परिवार पाल्नु ?”

राम्रोसँग तताएको भैँसीको शुद्ध दुई किलो ध्यू बेच्नका लागि झलारी बजारमा निकै घुमे तर दलित भएका कारण बिक्री गर्न सकिएन उहाँले बताउनुभयो । “होटेल, पसल, डेरीमा लगे पनि बिक्री भएन”, उहाँले भन्नुभयो, “सबै जनाले ध्यू चाहिदैन भनेर फर्काए ।”

झलारी बजारमा सबैले दलित समुदायको व्यक्ति भनेर चिनेका भएर खरिद नगरेको उहाँको भनाइ छ । नचिनेको बजार महेन्द्रनगर पु¥याएर मुस्किलले ध्यू बिक्री गरेको उहाँले बताउनुभयो । डेरी सञ्चालक भने सबै समुदायको विभेद्रहित तरिकाले दूध राख्दै आएको उहाँको भनाइ छ । दलित भएकै आधारमा दुग्धजन्य पदार्थ खरिद नगरिएको होइन । खपतनै कम भएपछि कसरी राख्ने डेरी सञ्चालक बताउँछन् ।

“भैँसीको दूध बिक्रीका लागि बजारमा लगेपनि कसैले खरिद गर्दैनन्”, पदम दमाइँले भन्नुभयो, “डेरी सञ्चालकलेसमेत व्यक्ति हेरेर दूध खरिद गर्ने गरेका छन् । दलित समुदायका व्यक्तिले दूध बिक्रीका लागि ल्याए खपत कम छ । चाहिदैन भन्छन् । दलित समुदाय बाहेकका व्यक्तिले दूध ल्याए सहज रुपमा राख्ने गरिन्छ ।” दलित समुदायलाई समाजमा हेर्ने दृष्टीकोणमा फरक नआउँदा अझै थिचोमिचो सहनु परेको उहाँको भनाइ छ ।

“दलित समुदायले पालेका गाईभैँसी खरिद गरेर कथित उपल्लो जातका व्यक्तिले लगेमा त्यसकै दूध दुहेर खान्छन् । तर दुहेर दूध बजारमा बिक्री गर्न लगे बिक्री हुदैन”, उहाँले भन्नुभयो, “दलित समुदाय शिक्षामा अगाडि नहँुदा र आर्थिक रुपमा सम्पन्न नहुँदाको परिणाम भोग्दै आएका छौं ।” गलत कुरीतिका कारण गरिबलाई गुजारा चलाउन समेत मुस्किल रहेको उहाँले दुःखेसो छ ।

“समाजले अझै समान व्यवहार गर्दैन, खोइ के भनुम्”, पदम दमाइँले बोल्दाबोल्दै रोकिनुभयो । समाज परिवर्तन भयो भनियो तर दलित भएकै कारण गौरसिंहहरूले भोगेका अथाह पीडाले कहिल्यै राज्य सञ्चालक गर्नेहरूलाई छोएन, न मर्दापर्दा काम लाग्ने भनिएका छिमेकीले नै कहिल्यै सम्मानको अनुभूति र आभास दिलाए ।

कथित तल्लो जात भएकै कारण गौरसिंहहरूले भोगेका पीडाहरू बाहिर आउँदैनन्, आए पनि सबैलाई सामान्य लाग्न थालेको छ । उहाँले भन्नुभयो, “म आफू कसैलाई भेदभाव गर्दिनँ, अरूले गर्छन् भने केही छैन ।” अहिले पनि लगभग त्यस्तै छ, नयाँ पुस्ताले त खासै भेदभाव गर्दैनन्, पुराना मान्छेहरूको सोच र व्यवहार फेरिएको छैन पदम दमाइँले भन्नुभयो ।

जातीय भेद्भाव तथा छुवाछुत ९कसूर र सजाय० ऐन २०६८ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जातजाती, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा छुवाछुत गर्न पाइदैन । यस्तो भेद्भावजन्य कार्य गरे कानुन बमोजिम दण्डनीय हुने व्यवस्था छ । जातीय रुपमा छुवाछुत गर्नेलाई रु २५ हजारदेखि रु एक लाखसम्म जरिवाना र एक महिनासम्म कैदको व्यवस्था समेत गरेको छ ।

राष्ट्रिय हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले दलित समुदायले उत्पादन गरेको दूध बजारमा बिक्री नहुनु मानव अधिकारको चरम उल्लङ्घन भएको बताउनुभयो । “मानव भएर मर्यादित रुपम बाच्न आवश्यकपर्ने सबै प्रकारका अधिकारको ग्यारेण्टी हुनुपर्छ”, उहाँले भन्नुभयो, “कानुन बनाएर मात्रै हुँदैन । कार्यान्वयन गरिनुपर्छ ।

पेशा व्यवसायलाई मर्यादित रुपमा गर्न नपाउँदासम्म मानव अधिकारको प्रत्याभूत हुनसक्दैन ।” जीवनको निम्त नभइ नहुने गाँस, बास, कपास र विकासको निम्त नभइ नहुने शिक्षा, स्वास्थ्य र रोजगार संरक्षणका लागि नभइ नहुने शान्ति सुरक्षा र समानता नै मानव अधिकार भएको उहाँको भनाइ छ ।

दलित समुदायमाथि पेशा व्यवसाय अपनाएकै आधारमा हुने विभेद्, दलित समुदायका बालिबालिकाले उच्च शिक्षाका लागि सहरमा पढन जाँदा दलित भएकै कारण डेरा नपाउने समस्यासमेत मानव अधिकारको उल्लङ्घन भएको उहाँको बुझाइ छ ।

“संविधानले दलित समुदायलाई सम्मानजनक रुपमा समाजमा बस्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ”, उहाँले भन्नुभयो, “यसलाई कार्यान्वयन गर्नुपर्ने आजको चुनौती छ । रुढीवादी समाजका कारण दलित समुदाय वर्षौदेखि अधिकारबाट वञ्चित भएका छन् । अब यसप्रति सबै सचेत हुनुपर्छ ।”

नेपाल छुवाछूतमुक्त घोषणा भएको, संविधानको प्रस्तावनामै जातीय भेदभाव गर्न नपाइने उल्लेख गरिएको, जातीय भेदभाव तथा छुवाछूत ९कसुर तथा सजाय० ऐन, २०६८ आएको पदम दमाइँलाई थाहा छ । सँगै के पनि थाहा छ भने कानुन त बनाइयो तर त्यसको प्रभावकारी कार्यान्वयनमा राज्यले चासो देखाएन, दलितमाथि अन्याय भइरह्यो, दोषीले छुटकारा पाइरहे ।

तपाईं त यसवारे जानकार हुनुहुन्छ । छुवाछूत कसरी अन्त्य होला रु भन्ने प्रश्न गर्दा पदमले भन्नुभयो, “मानिसले मानिसलाई प्रेम गर्न सिकाउनुपर्छ, भेदभाव आफैं हराएर जान्छ ।”रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments