हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित

भोजपुर: भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ। माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ ।

यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन्। लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन्। आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ–५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताए ।

स्थानीयवासी शेर्पाले भने, “हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ तर हामी किसानलाई भने धेरै फाइदा पुगेको छ। अब आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ ।”

केही दिनयता मौसममा परिवर्तन भएर आएको हिउँ र पानीका कारण चिसो बढ्दा चौपायालाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए। त्यस्तै, केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उनको भनाइ छ। विष्टले भने, “हिमपातका कारण धेरै चिसो बढेको छ। अरुभन्दा पनि बालबच्चा केटाकेटी, वृद्धवृद्धा र पशुचौपायालाई धेरै समस्या छ ।”

चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन्। हिउँ परेसँगै हिउँ खेल्न आउनेको सङ्ख्या बढेपछि सुन्तले, चखेवा, बाघखोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलमा मानिसको चाप बढेको छ ।

दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघखोरका होटल व्यवसायी गणेशकुमार तामाङले बताए। उनले भने, “हिउँपरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। व्यवसायमा टेवा पुगेको छ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?