मौसम परिवर्तन, चरनको अभावका कारण बर्षेनी महको उत्पादन घट्दै

सल्यान : सल्यानमा बर्षेनी महको उत्पादन घट्दै गएको छ ।

मौरीको गोला बढ्दै गए पनि मौसम परिवर्तन, चरनको अभावका कारण बर्षेनी महको उत्पादन घट्दै गएको हो ।

विगतमा ८ क्विन्टलसम्म मह बिक्री गरेका कालीमाटी गाउँपालिका–२ झिगानेका लोकेन्द्र वलीले यो वर्ष मुस्किलले १ क्विन्टल मात्र मह उत्पादन भएको बताउनुभयो । मौरीको गोला बढे पनि महको उत्पादन बर्षेनी घट्दै गएको उहाँको भनाई छ । “पहिलेको भन्दा मोरीको गोला पनि बढाएका छौँ तर मह भने घटी रहेको छ ।” उहाँले भन्नुभयो ।

गत वर्ष तीन क्विन्टल मुस्किलले मह उत्पादन भएको थियो तर यो वर्ष एक क्विन्टल किलोमा सीमित हुनुपरेको उहाँले बताउनुभयो । दुई सय घारमा रहेको मौरीको महबाट मात्रै १५ लाखभन्दा बढी आम्दानी गरेका वलीले यसबर्ष भने पचास हजार रुपैयाँ पनि नभएको बताउनुभयो ।

झिगानेकै नेत्र ओली पनि गत वर्ष तीन क्विन्टल मह उत्पादन गरेका थिए । यस वर्ष भने ७० किलो मात्रै मह उत्पादन भएको बताउनुभयो ।

चिउरी फुल्ने सिजनमा लगातार वर्षा हुँदा यस वर्ष मह उत्पादनमा भारी गिरावट आएको अर्का किसान उमेश कँडेलले बताउनुभयो । उहाँले ६० घारबाट विगतमा तीन क्विन्टलसम्म उत्पादन गर्ने गरेको भए पनि यो वर्ष भने ३५ किलो मात्र उत्पादन भएको बताउनुभयो । “यहाँ मौरीको मुख्य चरण भनेको चिउरी हो । चिउरी फुल्ने समयमा लगातार पानी पर्दा मौरी चर्न नपाउँदा उत्पादन नै भएन ।”, उहाँले भन्नुभयो ।

सल्यान मौरी पालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर विगतका वर्षको तुलनामा अहिले मह उत्पादन घट्दै गएको छ । मौरी पालनबाट नै जीवनयापन गर्दै आएका यहाँका किसान उत्पादन घटेसँगै समस्यामा परेका छन् ।

मौरी पालनमा लगानी बढाउँदै लगे पनि मह भने बर्षेनी घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

गत वर्ष कालीमाटी क्षेत्रमा जङ्गलमा झुसिल किराको प्रकोप र यो वर्ष लगातारको वर्षाका कारण मह उत्पादन घटेको कार्यालयका सूचना अधिकारी रमेश कुमार बस्नेतले बताउनुभयो ।

कार्यालयका अनुसार जिल्लामा दुई हजार तीन सय ७० मौरी घार रहेका छन् । गत आर्थिक वर्ष १२ दशमलव १ मेट्रिक टन मह उत्पादन भएको थियो ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments