उखुको मूल्य निर्धारण प्रतिक्विन्टल ५९० रुपियाँ

उखुखेती

काठमाडौँ: सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत जोडिएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।

यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५२० रुपियाँ हो जसमा उखुको न्यूनतम लागत ३८२ रुपियाँ, ढुवानी खर्च ६२ रुपियाँ तथा मुनाफा ७६ रुपियाँ हिसाब गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि किसान तथा चिनी उद्योगीसँग पटकपटक छलफल गरेको थियो । सो छलफलमा उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपियाँ र किसानले ६५० रुपियाँ गर्नुपर्ने प्रस्ताव गरेका थिए । दुवैको प्रस्तावलाई अध्ययन गरी कृषि मन्त्रालयले मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाएको थियो ।

उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेपछि त्यहाँ छलफल भई सो मूल्य निर्धारण भएको मन्त्री यादवले बताउनुभयो । सरकारले गत वर्ष मङ्सिर २८ गते उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५४४ रुपियाँ ३३ पैसा निर्धारण गरेको थियो । त्यसमा किसान सन्तुष्ट थिएनन् । यसपटक पनि सरकारले गरेको मूल्य निर्धारणमा किसानले असन्तुष्टि जनाएका छन् । उखु उत्पादक सङ्घका अध्यक्ष कपिलमुनि मैनालीले सरकार र उद्योगीको मिलोमतोमा यो मूल्य निर्धारण भएको गुनासो गर्दै यसमा किसान सन्तुष्ट नरहेको बताउनुभयो ।

मैनालीले भन्नुभयो, “चिनीको मूल्य प्रतिकेजी ९० रुपियाँदेखि १०० रुपियाँमा पुगिसक्यो । किसानको उखुको मूल्य जस्ताको त्यस्तै भएको गुनासो गर्नुभयो । त्यत्तिकै पनि किसानको बक्यौता रकम नउठेका कारण उखुको खेतीबाट किसान पलायन हुँदै थिए । अब यो मूल्यले गर्दा झन् खेती नै गर्न छाड्ने अवस्था आएको छ।”

गत वर्ष उखुको न्यूनतम लागत ३८६ रुपियाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपियाँ ८९ पैसासहित कुल ४७९ रुपियाँ दुई पैसा तोकिएको थियो । त्यसमा सरकारले प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने गरेको थियो । सरकारले यसपटक अनुदान रकममा पनि वृद्धि गरेको छ । नेपालका करिब १८ वटा जिल्लामा उखु खेती हुन्छ । त्यसमध्ये सबैभन्दा बढी सर्लाही जिल्लामा हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । सर्लाहीमा मात्र २२ हजार हेक्टरमा ११ लाख क्विन्टलभन्दा बढी उखु उत्पादन हुन्छ । सबैभन्दा कम झापामा करिब आठ हजार मेट्रिक टन मात्र उत्पादन हुने गर्छ । राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम बाराका अनुसार नेपालमा ३३ जातको उखु उत्पादन हुन्छ। आजको गोरखापत्र अनलाइनमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?