गाईभैँसी मर्न थालेपछि खोरेत रोगविरुद्धको खोप अभियान तीव्र

धनुषा: धनुषामा घरपालुवा जनावर गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान अन्तर्गत ६५ हजार गाईभैँसीमा लगाइएको छ। धनुषामा खोरेत रोगको सङ्क्रमण फैलिएपछि नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले जिल्लाभरिमा ६५ हजार गाईभैँसीमा निःशुल्क सो खोप दिएको छ ।

विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक इन्द्रदेव साहले गत ७ पुसदेखि सुरु गरिएको अभियानको क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित १८ स्थानीय तहको पशु शाखामार्फत खोप दिने काम भएको जानकारी दिए। डा साहले खोरेत रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेपछि एफएमडि खोप दिइएको बताए ।

पशुमा महामारीको रूप फैलिएको खोरेत रोगविरुद्धको खोप अभियानपछि अहिले नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाले दाबी गरेको छ। यस रोगमा पशुको खुर तथा मुखमा घाउ हुने भएको तर खोप अभियानपछि घाउ निको पनि हुन थालेको बताइएको छ। खास गरेर खोरेत लागेपछि खुट्टा तथा मुखमा घाउ भएर कीरा लाग्ने र पशुले खान छोडेर पछि लडेर मृत्यु हुने गर्दछ ।

पशुमा प्राणघातक रोगको रुपमा रहेको खोरेत छिमेकी जिल्ला सिरहाबाट धनुषामा सरेको डा साहले बताए। चालू आर्थिक वर्ष २०७८÷७९मा जिल्लाभरिमा एक लाख ३० हजार चौपायामा खोरेत विरुद्धको खोप लगाउने लक्ष्य लिएको कार्यालयले पहिलो चरणमा ६५ हजार पशुलाई खोप लगाइसकेको तथा खोप अभियान निरन्तर जारी रहेको केन्द्रका प्रमख ईन्द्रदेव साहले जानकारी दिए। उनले बाँकी पशुमा पनि आगामी दुई महिनाभित्रै खोप लगाइसक्ने केन्द्रले जनाएको छ ।

खोप अभियानमा ३६ खोपकर्तालाई परिचालन गरिएको र उनीहरुले घर–घरमै पुगेर पनि सेवा दिने गरेका छन्। खोप पूर्णतः निःशुल्क रहेको छ। पशुपालनका लागि राम्रो सम्भावना भएको धनुषामा चालू आर्थिक वर्षमा पनि सबै पालिकाका पशुको लागि पूर्ण खोप कार्यक्रम सञ्चालनमा रहेको छ। जिल्लाभरिकै सबै गाइभैँसीमा एक चरणको खोप लगाइसकेपछि आगामी जेठ महिनादेखि बुस्टर डोज लगाउने जानकारी दिँदै डा साहले भने, “मौसम अनुकूलता र निर्धारित समय अनुसार चौपायामा खोप लगाउने भएकोले सोही प्रक्रिया अनुसार चिसो सकिएपछि मात्रै दोस्रो चरणको खोप लगाइनेछ ।”

मङ्सिर महिनामा खोरेत रोगकै कारण जिल्लाभरिमा ६५ वटा चौपाया मरेको खोरेत रोगनियन्त्रण प्रयोगशाला काठमाडौँको तथ्याङ्कले देखाएको छ। १५ वटा गाईभैँसी तथा ५० वटा बाच्छबाच्छी खोरेत रोगकै प्रकोपले मरेकोले यो रोग अझै फैलिन नदिन तथा सोको पूर्ण नियन्त्रणको लागि खोप अभियानलाई तीव्रता दिइएको हो। खोरेत रोग निक्कै सङ्क्रामक भएकाले रोग लागेको पशुको सम्पर्कमा आएका अन्य पशुमासमेत सर्ने भएकाले रोग लागेको पशु भन्दा रोग नलागेका पशुलाई टाढा राख्नुपर्ने सुझाव पशु चिकित्सकले दिएका छन् ।

विभिन्न सात प्रकारको भाइरसबाट सर्ने खोरेत रोगको धनुषामा ‘ओ’ टाइप भाइरसको सङ्क्रमण फेला परेको बताइएको छ। एक पटक लगाएपछि तीन वर्षसम्म खोप लगाउनु नपर्ने भएकोले खोप अभियानलाई सघाउन किसान आफै पनि संवेनशील भई कुनै पशु नछुट्ने गरी सहयोग गर्नुपर्ने धारणा पशु विज्ञहरुको छ। खोरेत लागेको आशङ्का हुने वित्तिक्कै पशुको आवतजावत तथा चरिचरणको लागि बाहिर निस्कन पूर्णतः रोक लगाउनुपर्ने सुझाव पशुविज्ञहरुले दिएका छन् ।

रोग लाग्ने वित्तिक्कै किसानले पायक पर्ने पशुसेवा कार्यालयमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ। त्यसैगरी, भेडाबाख्रामा लाग्ने पीपीआर रोगविरुद्धको खोप माघ १ गतेदेखि लगाउन सुरु गरिने जनाइएको छ। केन्द्रले चालू आर्थिक वर्षमा एक लाख ३६ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?