सुरु भयो खोले सागको व्यावसायिक खेती : प्रतिकिलो सागको रु. एक सय

बागलुङ: गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ। खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् ।

बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन्। झण्डै डेढ रोपनीमा साग लगाइएको बैकुण्ठ सापकोटाले जानकारी दिए। उनले भने, “अहिले साग बेच्नलाई ठिक्क भएको छ। किसान बजार पठाउने सुरमा छन् ।”

छिपछिपे खेत र मूल वरिपरि खोले साग पहिलेदेखि नै उम्रेपनि रातामाटावासीलाई उती वास्ता थिएन। कतिलाई त यो खाने साग हो भन्नेसमेत पत्तो पाउँथेनन्। अलिअलि गर्दै टिप्ने, खाने चलन बस्यो। त्यसको मिठोमसिनो स्वाद सबैले रुचाए। खोले सागले विस्तारै महत्व पायो। शहरछेउको बस्ती भएर पनि होला त्यहाँका लागि खोले साग नौलो थियो ।

“खेतका मूलमा अलिअलि हुन्थ्यो, पहिले त यत्तिकै खेर जान्थ्यो, खान हुन्छ भन्ने पनि थाहा थिएन, अहिले बजार पाउन थालेपछि व्यावसायिक खेती थालेका हौँ”, उनले भने। उनले पानीको मूल र खेतको सिममा उक्त साग फस्टाउने गरेको बताए। “एकपटक निकालेपछि २०÷२५ दिनमा फेरि तयार भइसक्छ, छिपछिपे पानी हुने ठाउँमा खोले साग बाह्रैमास हुन्छ”, उनले भने ।

सापकोटासँगै प्रेम केसी, सरोज पौडेल, मनोज शर्मा, देवेन्द्र किसानलगायत खोले सो सागका खेतीमा लागेका छन्। भर्खर खेती सुरु गरेका किसान व्यावसायिक रुपमा सफल हुनेमा ढुक्क छन्। प्रतिकिलो सागको रु. एक सय र आधा किलाको रु. ५० मूल्य राखेका छन् । ग्राहक आएमा खेत या घरबाटै साग उपलब्ध गराउँछन्। उत्पादन बढ्दै गएमा बजार पठाइने किसान सापकोटाले जानकारी दिए। सागको खेती गरेको थाहा पाएपछि बजारबाट माग आउन थालेको उहाँको भनाइ छ ।

बागलुङ बजार नजिकै भएकाले बेच्नलाई समस्या छैन। तरकारी पसलले पनि किसानबाट साग उठाउन सक्छन्। तरकारी तथा फलफूल व्यवसायी विजय आलेले अहिले कास्कीको लुम्ले र नयाँपुल क्षेत्रबाट खोल साग बागलुङ बजार आउने गरेको जानकारी दिए। जिल्लामा खोले सागको व्यावसायिक खेती खासै नभएकाले बाहिरबाट ल्याउनुपरेको उनले भनाइ छ ।

“केहीकेही ठाउँमा अहिले खेती हुन थालेको छ, किसानले व्यावसायिक उत्पादन बढाए बजारको समस्या हुँदैन”, उनले भने, “उपभोक्ताले खोले साग खोजीखोजी किन्छन्, सर्दीको गुण भएकाले जाडो याममा बढी खोजी हुन्छ।” व्यवसायी आलेको अनुभवमा केही वर्षअघिसम्म खोले साग बजारको चल्तीमा थिएन ।

पछिमात्रै यसले व्यावसायिक प्रवेश पाएको हो। अहिले त रोज्जा सागमा खोले साग पर्न थालेको छ। फागुन–चैततिर यसको माग उच्च हुने गरेको छ। पसलले पनि एक मुठ्ठा सागलाई रु. सयमा बेच्ने गरेका छन्। किसानबाट केही कममा ल्याएर व्यावसायीले नाफा निकाल्छन्। शहरिया उपभोक्तामाझ पनि रोजाइमा परेको खोले साग खासमा के हो त ? कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत कुमार पुन भने,“खोले साग, रायो, तोरीलगायतको परिवार एउटै हो, खोला र सिमसार क्षेत्रमा पाइने भएकाले खोले साग भनिएको हो ।”

कतै खोले सागलाई ‘सिम साग’ पनि भनेर चिन्ने गरिएको उनको भनाइ छ। परम्परागत रुपमा टिप्ने, खाने चलन रहेपनि खोले सागको व्यावसायिक खेती पछि आएर मात्र भएको बागवानी अधिकृत पुनले बताए। “बजार माग बढेपछि खोले सागको व्यावसायिक उत्पादन विस्तारै बढ्दो छ”, उनले भने, “खोला आसपास र सिमसिम पानी हुने खेतमा यसको खेती हुन्छ, धेरै लगानी र मेहनत पनि चाहिँदैन ।”

खोले साग विषादीरहित हुने भएकाले स्वादिष्ट र स्वास्थ्यबद्र्धक पनि हुने उनको भनाइ छ। खोले सागको सेवन कब्जियत, कुपोषण, आँखाको समस्या भएकालाई लाभदायक हुने ठानिन्छ। खोले सागमा रोगव्याधि लाग्ने खतरा पनि ज्यादै न्यून हुन्छ। कुनैताका पहिचान र महत्व नपाएर त्यसै नास भइरहेको खोले सागले बजार पाउँदा किसान खुसी छन्। खोले साग कमाइको स्रोत बनेको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments