रासायनिक मलमा अनियमितता:प्रमुखविहीन भएपछि कृषि सामग्री कम्पनीका काम अवरुद्ध
काठमाडौँ:
रासायनिक मलमा एक अर्ब ५३ करोड रुपियाँ अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस १८ गते विशेष अदालतमा आरोपीमाथि मुद्दा दायर गरिसकेको छ । मुद्दा दायर भएपछि उहाँहरू स्वतः निलम्बनमा पर्नुभएको हो । त्यही दिनदेखि कम्पनी प्रमुखविहीन छ । निलम्बित चारै जना मुख्य जिम्मेवारीमा रहनुभएकाले अहिले आर्थिक कारोबारदेखि अन्य दैनिक काम पनि प्रभावित भएको हो ।
अहिले देशमा मलको यत्तिकै हाहाकार छ । मल खरिद गरी ल्याउने कम्पनी नै कर्मचारीविहीन भएपछि मल आपूर्तिमा झन् समस्या हुने भएको छ । टेन्डर गर्ने, मल ढुवानी गर्ने ठेकेदार कम्पनीलाई भुक्तानी गर्ने, विभिन्न देशबाट मल ल्याउनेलगायत सबै काम प्रभावित भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले कम्पनीमा प्रबन्ध सञ्चालक नियुक्ति गर्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । “कृषिमन्त्री महिन्द्रराय यादवले कम्पनीको प्रमुख अर्थात् प्रबन्ध सञ्चालक मन्त्रिपरिषद्बाट नियुक्त गर्ने भन्नुभएको छ । उहाँले सायद त्यो प्रस्ताव त्यहाँ लैजानुभएको होला । जे भए पनि केही दिनमा यो विषय टुङ्गो लाग्छ,” सचिव शर्माले भन्नुभयो ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष शशिराज तुलाधरले प्रमुख नियुक्तिका लागि नियमावली बनाउने काम भइरहेको जानकारी दिनुभयो । निलम्बित व्यक्तिको ठाउँमा अर्को व्यक्ति ल्याउन व्यवस्था अहिलेको कम्पनी नियमावलीमा नभएको चर्चा गर्नुहुँदै अध्यक्ष तुलाधरले बिहीबारदेखि नियमावली बनाउने काम सुरु भएको बताउनुभयो ।- गोरखापत्र
